सिरहा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधन हुने बताएका छन् ।
सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मधेसी जनताको आवश्यकताअनुसार संविधान संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, आफुु र उपेन्द्र यादवले हस्ताक्षर गरेको बताएका हुन् ।
उनले मधेसको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शङ्का नगर्न आग्रह गर्दै मधेसको विकास गरेमात्रै मधेसी जनताको आकाङ्क्षा सम्बोधन गर्न सकिने बताए ।
‘नेकपाले मधेशमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ’ उनले भने, ‘तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।’
सिँचाई र खानेपानी समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको प्रचण्डको भनाइ छ । ‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु’
अध्यक्ष प्रचण्डले भने, ‘डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहनेछ । सिराहा जिल्ला आँप उत्पादनमा नेपालकै अग्रणी जिल्ला हो । यहाँको आँपको माग विश्वभरि छ । सिरहालाई आँपको जोनको रुपमा विकास गर्न पहल गर्नेछु ।’
पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा पार्टी र सरकार लागि परेको अध्यक्ष प्रचण्डको भनाई छ ।