ओखलढुंगा । प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राई महिन्द्रा कम्पनीको सोरुम उद्घाटन गर्न हेलिकोप्टर चढेर ओखलढुंगा आउनभएको छ ।
सिद्धिचरण नगरपालिका वडा नं. ५ वर्णालुमा रुम्जाटार अटोमोवाइल्स प्रालिले सञ्चालन ल्याएको शोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई सोलुखुम्बुको पत्ताले हुँदै रुम्जाटार आउनुभएको हो ।
मुख्यमन्त्री राई प्रदेश सभाका सांसद अम्बीरबाबु गुरुङसहित सोलुखुम्बुको पत्तालेमा केही समय हेलिकोप्टर राखेर हिमपात भएको क्षेत्र र महालंगुर हिमश्रृंखला अवलोकनपछि रुम्जाटार आउनुभएको थियो । उहाँ महेन्द्रा कम्पनीका प्रतिनिधि, सांसद गुरुङसहित रुम्जाटार विमानस्थलमा समिट हेलिकोप्टरबाट दिउँसो रुम्जाटार १२ः३० बजे आएर सोरुम उद्घाटनपछि ४ः३० बजे काठमाडौं लाग्नुभएको थियो ।
उक्त रुम्जाटार अटोमोवाइल्स कम्पनीमा प्रदेश सभाका सांसद गुरुङको मुख्य लगानी रहेको बताइएको छ । गुरुङकै पहलमा मुख्यमन्त्री राई उक्त कम्पनीको शोरुम उद्घाटन गर्न आउनुभएको हो ।
यस अघि थाइल्याण्ड हुँदै अमेरिका जाँदा पनि मुख्यमन्त्री राई सांसद गुरुङकै खर्चमा अमेरिकासम्म पुगेको आरोप लगेको थियो ।
निजी कम्पनीको उद्घाटन गर्न मुख्यमन्त्री नै आउनु उयपुक्त नभएको सरोकारवालाहरुले बताएका छन् । नेकपाका नेता बाबुराम गौतमले समग्र प्रदेशको विकास निर्माणमा असर पर्ने गरी स–साना काममा मुख्य मन्त्री कुद्न उपयुक्त नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सबै क्षेत्रमा पुगेर जनताको अवस्था र विकासबारे बुझ्नु उपयुक्त हो, तर समानुपातिक हिसावले सबै ठाउँ जानुपर्छ ।’ मुख्य मन्त्री भएपछि राई ओखलढुंगा तीन पटक आइसकेका छन् । तर नेकपाका कार्यकर्ता भने उहाँको भ्रमणमाथि प्रश्न उठाउँदै आएका छन् । सदरमुकाममै आउँदा उनी नेकपाको कार्यालय नपुगी दिनभरी बसेर फर्किएपछि कार्यकर्ता चिढिएका हुन् । न्युज २४ अनलाइनबाट