काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले कागजी रुपमा मात्र नभई व्यवहारिक रुपमा सहिदका सपना पुरा गर्ने कार्य गरे मात्र राष्ट्र र राष्ट्रियता प्रति समर्पण गर्दै साहदत प्राप्त गरेका सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।
राप्रपाद्वारा केन्द्रीय कार्यालय धुम्बाराहीमा सहिदहरुको सम्मान र सम्झनामा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले प्रजातन्त्र, लोकतन्त्र जस्ता शब्दहरु संविधान, कानुन तथा भाषणहरुमा प्रसश्त भएपनि यथार्थमा त्यसको आभाष अझैसम्म हुन नसकेको भन्दै सहिदहरुको सपना विपरित लुटतन्त्र र भ्रष्टाचारले मलजल पाएकोप्रति उहाँले दुःख समेत प्रकट गर्नुभयो ।

दल तथा नेताहरुको अकर्मण्यताकै कारण देश टुक्र्याउने आवाज उठ्नु, दिनहुँजसो जबर्जस्ती धर्म गराउने क्रम बढ्नु, हत्या, भ्रष्टाचार, हिंसा, बलत्कार जस्ता कुकृत्यले सिमा नाघ्दै गएकोले विर सहिदहरुको सपनामा तुषारापात हुने हो कि भन्ने शंका पैदा भएको बताउँदै अध्यक्ष थापाले सहिदहरुको सम्मानको लागि आम जनताले परिवर्तनको महसुस गर्न सक्ने वातावरण तयार गर्न सबैमा आग्रह गर्नुभयो ।
राष्ट्रवादी विचार बोकेकै कारण राप्रपाका करिब २०० जना व्यक्तित्वले साहदत प्राप्त गर्नुभएको प्रसंग उल्लेख गर्दै अध्यक्ष थापाले कृष्णचरण श्रेष्ठ, गोपाल गिरी, राजेन्द्र श्रीवास्तव, गीतानिधी रायमाझी, हर्क बहादुर गुरुङ, क्षेत्र बहादुर के.सी., रामलखन चौधरी, धन बहादुर बम, अजय राज सिंह, मनोज प्रताप मल्ल, वशन्ती, लामा, धनरुप बटाला, शारदा प्रसाद ढुंगेल, देवी जंग पाण्डे लगायतका सहिदहरुको सपना पुरा गर्न राप्रपा सदैव दृढ संकल्पित रहेको स्पष्ट पार्नुभयो ।
राज्यले घोषणा गरेका सहिदहरुलाई पार्टीगत आधारमा गरिएको विभेदको अन्त्य गर्दै सबैलाई समान व्यवहार गर्न थापाले सरकारसँग माग गर्नुभयो ।
कार्यक्रममा पार्टीका नेता राजीव पराजुली, सहिद पत्नि सुन्तली ढुंगेल लगायतले मन्तव्य राख्नुभएको थियो भने स्वागत मन्तव्य महामन्त्री एवं सचिबालय प्रमुख भास्कर भद्राले व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा अध्यक्ष थापाले राष्ट्र र राष्ट्रियताको लागि प्राण उत्सर्ग गर्ने सहिदका परिवारलाई सहिदको तस्विर सहितको फ्रेम प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।