काठमाडौं । कार्यक्षेत्रमा खटिएका दाैरान ज्यान गुमाउने २ हजार ८०७ सुरक्षाकर्मीलाई सरकारले ‘शहीद’ घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले जनताकाे सेवामा खटिँदाकाे क्रममा विभिन्न कारणले ज्यान गुमाउन पुगेका नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई शहीद घोषणा गर्ने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयाे ।
आज सशस्त्र प्रहरी बलकाे मुख्यालय हलचाेकमा अायाेजित सशस्त्र प्रहरीकाे १८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २ हजार ८०७ जना सहादतप्राप्त सुरक्षाकर्मीहरुलाई शहीद घोषणा गरेको जानकारी गरानुभयाे । उहाँले देशका लागि ज्यान दिने सपुतहरुका परिवारमा रहेकाे
असमानता अब साेमबारकाे मन्त्रीपरिषदकाे निर्णयसँगै हटेको बताउनुभयाे ।
प्रधानमन्त्री ओलीले मुलुकलाई फेरि द्वन्द्वमा फसाउने षडयन्त्र भइरहेकाे पनि बताउनुभयाे । विगतमा भएको द्वन्द्वको घाउमा मल्हम लगाउनुको साटो केही तत्वहरुले मुलुकलाई पुन: द्वन्द्वमा धकेल्ने प्रयास गरिरहेकाे भन्दै उहाँले दु:ख व्यक्त गर्नुभयाे ।
शहीद घोषणामा पर्नेमध्ये सबैभन्दा धेरै नेपाल प्रहरीमा रहेर शहादत प्राप्त गर्नेहरु रहेका छन् । नेपाल प्रहरीका १ हजार ४४८ जना शहादतप्राप्त सुरक्षाकर्मी शहीद घाेषित भएका हुन् । त्यसपछि नेपाली सेनाका १ हजार १८ र सशस्त्र प्रहरीका ३१८ जनालाई शहीद घाेषणा गरिएकाे छ । साे लिस्टमा राष्ट्रिय अनुसन्धान विगागका २३ जना रहेका छन् ।
यसअघि गत सालकाे माघमा मन्त्रीपरिषद बैठकबाटै पनि तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी र सरकारी शिक्षकलाई शहीद घोषणा गर्ने निर्णय गरेकाे थियाे । न्यूज २४ अनलाइन