काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले पृथ्वी जयन्तीको अवसरमा गर्न लागेको चियापान कार्यक्रम १० हजार भन्दा धेरैलाई निम्तो दिएको बताईएको छ ।
शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने कार्यक्रमका लागि विशिष्ट अतिथि र पार्टी सदस्यहरुका लागि दश हजार भन्दा धेरै कार्ड वितरण गरिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
२९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले सधैं झैं यसपटक पनि पौष २७ गते चियापान कार्यक्रम आयोजना गरेको बताईएको छ ।
अपरान्ह एक बजेदेखि तीन बजेसम्म हुने चियापान समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, संवैधानिक अङ्गका प्रमुखहरु, निजामती, जङ्गी सेवाका बहालवाला र पूर्व विशिष्ट पदाधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रमुखहरु, आमसञ्चार माध्यम, नागरिक समाज र सामाजिक जीवनका विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको छ ।
राप्रपाले राष्ट्रिय एकता दिवसलाई पर्वका रुपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारसँग मागसमेत गरेको छ । राप्रपाले २०६४ सालदेखि हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम गर्दै आएको छ ।