काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदाको माग गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन पार्टीका प्रदेश, जिल्लालगायत सबै तहलाई निर्देशन दिएको नेता भुवन पाठकले जानकारी दिए ।
बैठकले वाइड वडी जहाज खरिद प्रकरणमा संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले अनियमितता भएको ठहर गरेको विषयलाई गम्भीरतापूर्वक लिई तत्काल कारवाहीको प्रक्रिया अघि बढाउन पनि सरकारसँग माग गरेको छ ।
आगामी फागुन १५ गतेदेखि ३० गतेसम्म राष्ट्रिय स्वाभिमानको जगेर्नाका लागि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गरिने बैठकले निर्णय गरेको छ ।
यस्तै, सङ्गठन सुदृढीकरण अभियानमा सहभागी हुन केन्द्रीय कार्यसमितिका प्रत्येक सदस्यले अनिवार्य रुपले प्रदेशसभा वा सङ्घमा आफ्नो निर्वाचन क्षेत्र छान्नुपर्ने, छानिएका निर्वाचन क्षेत्रको जानकारी एक हप्ताभित्र पार्टीको केन्द्रीय सचिवालयलाई दिनुपर्ने र निर्वाचन क्षेत्र छनोट नगरेका सदस्यलाई सङ्घ तथा प्रादेशिक निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा उमेदवार नबनाइने निर्णय गरेको छ ।
यस्तै माघ १३, १४ र १५ गते स्थानीय तहमा हिन्दू राष्ट्र पुनर्स्थापना राष्ट्रिय जागरण अभियान र सभा सञ्चालन गर्ने निर्णय गर्दै राप्रपाले त्यहाँ केन्द्रीय प्रतिनिधि खटाउन लागेको छ । केन्द्रीय सदस्यहरुले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र छानेर जानुपर्ने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
धूम्रबराहीस्थित केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्यहरु, विभागका प्रमुख र सदस्य सचिव र भ्रातृ सङ्गठनका अध्यक्ष एवम् महासचिवको सहभागिता रहेको थियो ।