काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले आउँदो चैत्र २४ गतेबाट आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेगरी आन्दोलनको घोषणाको तयारी भएको बताएका छन् ।
उनले कम्युनिष्टको नाममा जनता झुक्याउने प्रचण्ड र ओलीविरूद्ध आन्दोलन केन्द्रित हुनेपनि बताए
बिष्णु न्याैपाने (उपाध्याय) द्वारा लेखिएको काव्य फर्केर हेर्दाको विमोचन कार्यक्रममा गजुरेलले यस्तो बताएका हुन् । उनले भने, ओलीजी र प्रचण्डजीको डबल नेकपाले जनतामा समृद्ध नेपाल, खुशी नेपाली नारा भरपुर बाँड्यो तर परिणाममा खासै उपलब्धि देखिएन ।
देशमा राम्रो भएको हेर्ने इच्छा सबै नेपालीको हो तर डबल नेकपाको गतिविधि जनता र देशविरूद्ध छ । यसकारण नकारात्मकरूपमा ओलीजी धन्यवादका पात्र हुनुहुन्छ । जसले क्रान्तिको वातावरण बनाई दिएको छ ।
गजुरेलका अनुसार जनगणतन्त्र ल्याउने अभियानमा आफुहरू निरन्तर लागिरहेको र जनगणतन्त्रका लागि संघर्षको घोषणा आगामी चैत्र २४ गते जनआन्दोलन दिवसको अवसरमा गर्ने खुलासा गरे । सुनियोजितरूपमा कम्युनिस्टलाई सिध्याउने खेलमा आफ्ना पूर्व नेतृत्व लागेको भन्दै प्रचण्डप्रति तिखो कटाक्ष गरे । हामीले कहिल्यै बुर्जुवा गणतन्त्र भनेनाैं, उनले भने, तर, प्रचण्डजीहरू लोकतान्त्रिक गणतन्त्रको आवरणमा बुर्जुवा गणतन्त्रमा फसे, स्वास्थ्य शिक्षालाई माफिकरण गरे, आफैं प्रमाण नष्ट गर्ने र आफैं अपराधी पत्ता लागेन भन्दै निर्मलामाथि अन्याय थोपरे, यस्तो परिकल्पना हाम्रो थिएन । निर्मलाको केसमा सरकार संलग्न भएको समेत दावी गरे ।
अर्का वक्ता प्रा.डा. जगदिशचन्द्र भण्डारीले किताबमाथि टिप्पणी गरेका थिए । उनले लेखक बिष्णु र उनका श्रीमान् हरिकृष्ण उपाध्यायको जीवनीमा पुस्तक केन्द्रित भएतापनि फर्केर हेर्दा गीती काव्य परिवर्तनको पक्षमा आफुलाई समाहित गर्ने तमाम संघर्षशील व्यक्तिहरूको कथा भएको बताए । यो एउटा भिषण र डरलाग्दो कथा हो, प्रा.डा. भण्डारीले भने, वर्गसंघर्षको नेतृत्वकर्ता कहाँसम्म आइपुगेको छ भन्ने संकेत यसले बोकेको छ । यसले ती तमाम १३ हजारभन्दा बढीको बलादानी र हजाराैं बेपत्ता परिवारको वेदना, पीडा र आक्रोस बोलेको छ । उनका अनुसार लेखकको क्रान्तिपक्षधरता पनि झल्केको छ ।
लेखकका अनुसार तात्कालिन माओवादी आन्दोलनका एक नेता आफ्ना श्रीमान् हरिकृष्ण उपाध्यायको २०४० सालमा मशाल हुँदै जनयुद्ध र यहाँसम्मको यात्रा संस्मरणको रूपमा पुस्तक केन्द्रित रहेको बताईन । उनले भनिन्, ‘यो देशको परस्थितिले जन्माएको कथा हो ।’