पोखरा, पुस ७ । पोखराबासीले राजा ज्ञानेन्द्रको भव्य स्वागत गरेका छन् ।
बिहान ११ बजे राजा ज्ञानेन्द्रले रानी कोमल शाहसँगै विन्ध्यवासिनी मन्दिर दर्शन गर्न जानु भएको हो ।
बाटोमा करिब एक किमि क्षेत्रमा राप्रपा कार्यकर्ता राजावादी, समर्थकहरु र स्थानीय राजाको स्वागतका लागि लामबद्ध थिए ।
राजाले पोखरेली जनताको माया र सद्भावले आफू पटक–पटक पोखरा आएको बताउनु भएको छ ।
सञ्चारकर्मीहरुसित बोल्दै उहाँले पोखरेलीहरुको स्वागत र सत्कार देख्दा आफूलाई गर्व महसुस भएको उल्लेख गर्नु भएको छ ।
राजाको स्वागतका क्रममा पञ्चेबाजा र झाँकीसमेत प्रदर्शन गरिएको थियो ।
राजा रानीलाई हेर्नका लागि शुभेच्छुकको ठूलो भीड लागेको थियो । नालामुखदेखि मन्दिरसम्मको सडकमा यातायात आवागमन नै बन्द गरेर उहाँलाई स्वागत गरिएको थियो ।
त्यसक्रममा ‘गणतन्त्र मुर्दावाद’, ‘राजा आउ, देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’लगायतका नारा लगाईएका थिए ।