काठमाडौँ, मङ्सिर ८ गते । वाग्मती सफाइ महाअभियान शुरु भएको २८९ हप्ता पूरा भए पनि नदीमा माछा बाँच्नसक्ने गरी पानी शुद्ध हुन सकेको छैन । मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २५० औँ हप्ताको सफाइ गर्न पशुपति क्षेत्रको तिलगङ्गा जुटिरहँदा एक दर्जन बढी ठूला माछा मरेको फेला परेको हो ।
वर्षाद्मा पानीको बहाब बढी हुँदा पानी केही सफा हुन्छ । हिउँद लागेपछि पानी कम भई माछा बाँच्न नसक्ने गरेको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । गतवर्ष पनि हिउँद लागेपछि वाग्मतीमा हुर्किएका माछा मरेका थिए । वाग्मती नदीका करीब आधा दर्जन स्थानमा हाल हप्तामा एक पटक सफाइ हुने गरेको छ । मूल सफाइ महाअभियानको २८९ हप्ता पुगिसकेको छ । तिलगङ्गा महिला समूहले १९१ औँ हप्ताको सफाइ पनि मञ्चसँगै पशुपति क्षेत्रमै गरेको थियो ।
उपत्यकाबाट २८ मेट्रिकटन फोहर व्यवस्थापन
सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासीको उल्लेख्य सहभागिता थियो । कुहिने फोहर खाडल खनेर पुरिएको र नकुहिने फोहर महानगरपालिका–८ ले व्यवस्थापन गरेको थियो । अभियानले सफाइमा आउँदा घरको फोहर घरमै व्यवस्थापन गर्न आह्वान गरिएको अभियानकर्मी पुडासैनीले सुनाउनुभयो ।
वाग्मती सफाइ महाअभियानको २८९ औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २४ संस्थाका ४५० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
सफाइबाट नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा अधिकार सम्पन्न वाग्मती समिति अध्यक्ष नरेन्द्रराज बस्नेत, आयोजना प्रमुख आशिष घिमिरेलगायत अभियानकर्मीको सहभागिता थियोे ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा तालीम लिइरहनुभएका नव नियुक्त ९० जना अधिकृत वरिष्ठ निर्देशक कमलनयन प्रधानको नेतृत्वमा सफाइ अभियानमा जुटेका थिए । ब्लू क्रस अस्पताल त्रिपुरेश्वर एम्बुलेन्ससहित, नेपाल सिर्जनशील समाज, बक्रेश्वर बचत तथा ऋण सहकारी डिल्लीबजार, पहिलो पाइला, फोहर उन्मूलन उपभोक्ता समिति सिनामङ्गल, महानगरीय दङ्गा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वर, प्राकृतिक प्रकोप तथा भूकम्पप्रभावित उद्धार समाज, युरेशिया रेयुकाई सानेपा, युएन पार्क प्रयोगशाला, गायत्री परिवार, बाल सारथी बागेश्वोरी, जीवन विज्ञान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाङ्काल, पाठशाला नेपाल बानेश्वर, सिस्नुपानी नेपाल, हलेसी डेकोरलगायतको सफाइमा संस्थागत सहभागिता थियो ।
यसैगरी रुद्रमती सफाइको २४४ औँ हप्तामा रातोपुल–मैतीदेवी मन्दिर–मैतीदेवी चोकहुँदै रुद्रनगरसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । मैतीदेवीचोकबाट सेतोपुलसम्म काठमाडौँ महानगरपालिकाले आयोजना गरेको रत्नपार्कबाट सिनामङ्गल सफाइ अभियानमा ऐक्यबद्धता जनाइएको अभियानकर्र्मी रोहित गिरीले सुनाउनुभयो ।
सफाइमा महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, वातावरण संरक्षण अभियान, रुद्रमती सरोकार समाज, प्रसिद्धि कला समूहलगायत संस्थासहित स्थानीयवासीको सहभागिता थियो । विष्णुमती सफाइ अभियानको २१६ औँ हप्तामा टोखा नगरपालिका–५ स्थित मनमैँजु पुलबाट सिद्धेश्वर मन्दिरसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । यस क्षेत्रमा मेलम्चीका पानी वितरणका लागि पाइप बिच्छ्याउन सडक खन्दा कालोपत्र नदेखिने गरी माटोले पुरेको भेटिएको अभियानकर्मी शोभाकान्त पाण्डेले बताउनुभयो ।
सडकमा जम्मा भएको फोहर माटोलाई नदीमा हालिएको र अन्य फोहर व्यवस्थापना गरिएको जनाइएको छ । सुन्दरीघाट क्षेत्रको वाग्मती सफाइको ९९ औँ हप्तामा १०० जना स्थानीयवासीले त्यस क्षेत्रको सफाइ गरेका छन् । सफाइबाट एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले जानकारी दिनुभयो ।
मनोहरा सफाइको ८९ औँ हप्तामा महानगरपालिका–३२ नं वडास्थित हनुमन्ते र मनोहरा दोभानको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा वडाध्यक्ष नवराज पराजुलीसहित १०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिनुभयो ।
चक्रपथ सफाइको ८५ औँ हप्तामा नयाँ बालाजु चोकबाट गङ्गाहलसम्मको क्षेत्रमा सफाइ गरियो । तीनवटै सुरक्षा निकाय, महानगरपालिका, अभियानकर्मी र स्थानीयवासी गरी ४०० भन्दा बढीले गरेको सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी रेणुका गुरुङले जानकारी दिनुभयो ।
आलोकनगर सफाइ अभियानले ८५ औँ हप्ताको सफाइ त्यस क्षेत्रमा गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइसँगै चेपाङ समुदायलाई दिनका लागि न्यानो कपडा सङ्कलन गरिएको अभियानकर्मी प्रमिला पौडेलले जानकारी दिनुभयो ।
चक्रपथ बाफल खण्डको ६७ औँ हप्तामा सीतापाइलाबाट स्वयम्भू कारखानासम्मको क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।
विसं २०७० जेठ ५ गते वाग्मतीबाट शुरु भएको सफाइ अभियान हाल देशका १०० भन्दा बढी स्थानमा फैलिएको छ । सफाइबाट २० हजार मेट्रिकटन फोहर व्यवस्थापन भइसकेको सफाइ महाअभियानले जनाएको छ ।
अधिकार सम्पन्न वाग्मती एवं उपत्यकाका अन्य नगरपालिकाले नदी फोहर गर्नेलाई कानूनी कारवाहीको दायरमा नल्याउदा अभियान सामाजिक सञ्जालमा मात्र फस्टाएको आरोप लाग्ने गरेको छ । अधिकार सम्पन्न वाग्मतीले नदीको मुहान क्षेत्रकै किनारमा खोलिएका सुङ्गुर बङ्गुर फार्म बन्द गर्न नसक्दा माथिबाटै नदी फोहर हुने गरेको छ । (रासस)