विर्तामोड । समृद्धि जादु गरेर आउँदैनन भन्ने कुरा झापाको हल्दीबारी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई राम्ररी थाह छ। त्यसैले उनीहरु आफ्नो गाउँपालिकाको समृद्धि कसरी हुनसक्छ भनेर त्यस्को जग बसाउने क्रममा छन्।
उक्त गाउँपालिकाको निर्वाचनमा फरक फरक राजनीतिक पृष्ठभूमिबाट जनप्रतिनिधिहरु निर्वाचित भए पनि विकासको काममा कुनै तिक्तता नभएको त्यहाँ कार्यरत कर्मचारी बताउँछन्। विगत केही महिनादेखि समृद्धिको खाका कोर्दै अहिले त्यस्को कार्यान्वयनमा उक्त गाउँपालिका लागि सकेको छ।
प्रहरीलाई आवश्यक उपकरण सहयोगदेखि प्रत्येक सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधारमा उक्त गाउँपालिकाले काम गरिरहेको छ। सामुदायिक विद्यालयका शिक्षकले पूर्ण समय कक्षामा बिताउँछन् कि बिताउँदैनन् भन्ने कुराको निगरानी विद्युतीय हाजिरीको व्यवस्था गरिसकेको छ।
त्यस्का अतिरिक्त कृषिलाई समृद्धिको मुख्य आधार बनाएको उक्त गाउँपालिका कार्यालयले आफ्नै कृषि तथा पशु प्राविधिक उत्पादन गर्न १० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाइरहेको छ। प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे भन्छन्, ‘हामीले समृद्धि हासिल गर्नका लागि बनाएका खाका अब कार्यान्वयनमा लगेका छौं।’
नारै नाराका कार्यक्रम
‘हल्दीबारीको दृष्टि, कृषि र पर्यटनमार्फत समृद्धि‘ हल्दाबारी गाउँपालिकाको समृद्धिको मूल नारा रहेको छ।
बालबालिकालाई समेट्नेगरी ‘समृद्धिका पालक हल्दीबारीका बालक‘, राजश्व संकलनका लागि ‘मैले तिरेको कर गाउँपालिकाको भर‘, किसानलाई समेट्नेगरि ‘किसानको खुशी पशुपालन र कृषि‘, पर्यटनलाई समेट्नेगरि ‘फेरि पनि घुम्न जाउँ हल्दीबारी गाउँ‘ र ‘पूर्वको पर्यटकीय स्थल हल्दीबारी र जलथल‘, महिलाका लागि ‘हल्दीबारीका महिला विकासमा पहिला‘, साहित्यका लागि‘साहित्यिक मन कृषि र पर्यटन‘, माछा पालनका लागि ‘हल्दीबारीको बाचा झापाभरि माछा‘ लगायत नारा तय गरेर चालु आर्थिक वर्षका कार्यक्रमहरु कार्यान्वयन लगिएको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताए।
बुधबार गाउँपालिकाले कृषि उत्पादन बढाउन सहकारी संस्थाहरुसंगको लागत साझेदारीमा खरिद गरेका ७ वटा ट्र्याक्टर सहकारी संस्थाहरुलाई हस्तान्तरण गरेको छ ।
एकजना ल्याव टेक्निसियन र एकजना ल्याव असिस्टेन्ट नियुक्त गरि बुधबारदेखि नै जलथल स्वास्थ्य चौकीमा प्रयोगशाला ल्यावको स्थापना गरिएको छ। उक्त ल्याव स्थापना भएपछि रगत तथा दिसा पिसाब जाँचका लागि घन्टौं विताएर विर्तामोड जानुपर्ने अवस्था हटेको छ। उक्त चौकीमा २ जना कर्मचारी नियुक्त गरेर बुधबारबाटै बर्थिङ सेन्टरको शुरुवात भएको छ।
सामुदायिक विद्यालयका लागि ११ जना घुम्ती कम्प्युटर शिक्षक, ५ जना घुम्ती खेल प्रशिक्षक र ३ जना घुम्ती योग शिक्षकको व्यवस्था गरि बुधबारबाटै सामुदायिक विद्यालयहरुलाई जिम्मा लगाएको छ। खबरमन्चबाट