काठमाडौ । सुदुरपश्चिम प्रदेशको कैलालीमा अवस्थित गेटा आँखा अस्पताल भाडामा संचालित आन्दोलनको मारमा पारेको छ । उक्त अस्पतालमा करारमा कार्यरत प्रमुख प्रशासक सहित जिम्मेवार वरिष्ट कर्मचारीहरु नेपाल नेत्रज्योति संघको लाचारी र सरकारको अनदेखा तथा सत्तारुढ दलका सांसदहरुको अपमानजनक व्यवहारको कारण अन्यायपूर्ण बहिर्गमनमा परेका छन् । अनुशासनहीनता बढेको र प्रशासनमा सुधार आवश्यक महसुस गरि नेपाल नेत्रज्योति संघले नेपाली सेनाबाट अवकाश प्राप्त प्रमुख सेनानी (कर्णेल) दीर्घ बहादुर चन्दलाई तीन वर्ष अगाडी प्रमुख प्रशासकमा नियुक्त गरेको थियो र हाल उनी सहित करारमा नियुक्त बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्ट र बायोमेडिकल टेक्निसियन राज बहादुर चौधरी लगायत स्थायी कर्मचारी वरिष्ट प्रशासकीय अधिकृत गोविन्दप्रसाद जोशीलाई निजहरुको जिम्मेवारीबाट हटाउन जे जस्ता खेल खेलियो त्यो चाहिँ उदेक लाग्दो छ ।
अस्पतालका समस्त कर्मचारीहरुलाई समय पालना, पोशाक अनुशासन र जिम्मेवारीवोध गराउन उदाहरणीय कार्य गरेका चन्द, जीवनभर अस्पतालमा सेवा गरि बाह्य कार्यक्रम सफलरुपमा संचालन गरेका भट्ट तथा जीवनभर उपचार उपकरणहरुको स्याहार सम्भारमा समर्पित राज बहादुर चौधरी जस्ता कर्तव्यनिष्ठ कर्मचारीहरुलाई अपमानपूर्ण बहिर्गमन हुन वाध्य पारिएको छ भने स्थायी कर्मचारी वरिष्ट प्रशासकीय अधिकृत गोविन्दप्रसाद जोशीलाई जिम्मेवारी विहीन बनाइएको छ । उक्त अन्यायपूर्ण कार्यको मारमा सोझासाझा कर्मचारीहरु र सेवाग्राहीहरु समेत परेका छन् भने गेटा आँखा अस्पताल आन्दोलनको अखाडाको रुपमा परिचित हुन पुगेको छ ।
४४ वर्ष अगाडि स्थापित यो आँखा अस्पतालमा गएको जेठ ४ गते एकाएक आन्दोलन सुरु भयो । आन्दोलनकर्ताहरूको माग थियो: नेपाल सरकारले बढाएको महङ्गी भत्ता त्यहाँका कर्मचारीहरुलाई पनि उपलब्ध गराउनुपर्यो । गेटा आँखा अस्पतालको तत्कालिन प्रशासनमा कार्यरत कर्मचारीका अनुसार उनीहरूको माग सम्बन्धमा अस्पताल प्रशासन सकारात्मक मात्रै थिएन कि नेपाल नेत्रज्योति संघलाई महङ्गी भत्ता वितरण गर्ने सैद्धान्तिक सहमतिको माग राख्दै नेपाल नेत्रज्योति संघ केन्द्रीय कार्यालमा पत्राचार समेत गरिएको थियो । तर, नेत्र ज्योति सङ्घ केन्द्रीय कार्यसमितिले तुरुन्तै महङ्गी भत्ता वितरण गर्ने अनुमति दिएन तर सरकारले जेठ १५ गते सार्वजनिक गर्ने नयाँ तलब वृद्धिको घोषणासँगै तलब तथा भत्ता वृद्धि गरिने आश्वासन दियो र सोहि अनुरुप अस्पताल प्रशासनले आन्दोलनरत कर्मचारीहरुलाई संदेश सम्प्रेषण गर्यो । तर, खेल अर्कै थियो । जसरी पनि करारमा कार्यरत कर्मचारीहरु लगायत प्रमुख प्रशासक चन्दलाई हटाउने र त्यहाँ अर्कै व्यक्ति ल्याउने योजना अन्तर्गत कर्मचारीलाई उचालेर आन्दोलन गराएको हुँदा आन्दोलनकारीहरु रोकिएनन् । बरू, अब उनीहरूको माग प्रमुख प्रशासक चन्दको करार नथप्ने र राजीनामा दिनुपर्ने तर्फ सोझियो । त्यसपछि नेपाल नेत्रज्योति संघ कैलाली शाखाका सचिव नरेन्द्रराज शर्मा लगायत केहि पदहिकारीहरुको इशारामा स्थानीय व्यक्तिहरु सम्मिलित गरि कर्मचारीहरूले गेटा आँखा अस्पतालका सभापति लोकराज जोशी, प्रमुख प्रशासक दीर्घबहादुर चन्द, बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्ट र गोविन्द प्रसाद जोशीलाई नै हटाएर नयाँ व्यवस्थापन समिति बनाउनुपर्ने माग राखे । जसमा साथ थियो सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय सांसद र नेताहरूको । अनि उनीहरूले नै सञ्चालन गर्दै आएका केही स्थानीय स्वघोषित अभियन्ता र युट्युब च्यानल सञ्चालकहरूको सक्रियतामा कुनै पनि तर्क तथा तथ्यमा नटेकी उल्लेखित व्यक्तिहरूलाई बदनाम गराउने क्रम अघि बढ्यो ।
यसमा रोचक त के छ भने अस्पतालमा चलिरहेको आन्दोलनको पक्षमा देखाउन कैलालीस्थित फुलबारी होटलमा बृहत भोजको आयोजना समेत भयो । जेठ १९ गते गरिएको सो कार्यक्रममा अस्पतालमा कार्यरत कर्मचारीहरूका परिवारका सदस्य र आफन्तजनहरूको भीडभाड मात्रै होइन कि उनीहरूको नाम र हस्ताक्षर समेत रहेको देखिएको छ । यसरी होटलमा एकबद्धताको नाममा भोजको आयोजना गर्ने खर्च चाहिँ त्यहीका कर्मचारीबाट प्रति व्यक्ति १० हजारदेखि ५० हजारसम्म संकलन गरेर जुटाइएको थियो । त्यस्तो रकमको ठूलो हिस्सा स्थानीय रास्वपा कार्यकर्ता र कथित मिडिया (युट्युब च्यानल) हरूलाई भुक्तान गएको गरिएको सोही अस्पतालमा कार्यरत कर्मचारीहरू बताउँछन् ।
अस्पताल सम्बद्ध स्रोतका अनुसार समस्याको जड चाहिँ नेपाल नेत्रज्योति संघ कैलाली शाखाको आपसी किचलो नै हो । अध्यक्ष लोकराज जोशी र सचिव नरेन्द्रराज शर्माबिचको व्यक्तिगत असमझदारी, अध्यक्षले गरेका क्रियाकलापको विरोध गर्दै सचिवले समानान्तर गतिविधि गर्नु, सचिवले अस्पतालका असन्तुष्ट कर्मचारीहरुलाई हातमा लिएर विरोध र आन्दोलनका कार्यक्रम चलाउनु र बैतडी तथा डोटी, डडेल्धुरा पुर्ख्यौली घर भएका मानिसहरु बिचको क्षेत्रीयताको भावना । जसमा २०७९ सालमा निर्वाचित सभापतिका रूपमा पुर्ख्यौली घर बैतडी भएका लोकराज जोशी अध्यक्ष थिए भने सचिव नरेन्द्रराज शर्माको पुर्ख्यौली घर चाहिँ डोटी हो । सोहि झगडाको मारमा चाहिँ बैतडी पुर्ख्यौली घर भएका चन्द, भट्ट र जोशी परेका हुन् ।