रसुवाको बेत्रावतीमा आएको बाढीका कारण श्रीमतीको मिर्गौला उपचारका लागि जम्मा गरेको करिब २५ लाख रुपैयाँसहित सुनचाँदीसमेत गुमाएका पीडित परिवारलाई मिस नेपाल आशमा कुमारी केसी, नीति शाह र त्रिसरा रेस्टुरेन्टले संयुक्त रूपमा ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
बाढीले घरपरिवारको दैनिकी मात्र प्रभावित नगरी उपचारका लागि वर्षौं लगाएर जम्मा गरेको रकमसमेत बगाएपछि ती परिवार थप संकटमा परेको थियो । मिर्गौला रोगबाट पीडित श्रीमतीको उपचारका लागि सुरक्षित राखिएको करिब २५ लाख रुपैयाँ, सुनचाँदीलगायतका महत्वपूर्ण सामग्री बाढीमा बगेपछि परिवार अहिले उपचार खर्च जुटाउने चुनौतीमा परेको छ ।
पीडित परिवारको अवस्थाबारे जानकारी पाएपछि सामाजिक उत्तरदायित्व र मानवीय भावनाका साथ आशमा केसी, नीति शाह र त्रिसरा रेस्टुरेन्टले सहयोगको हात अगाडि बढाएका हुन् । ३ लाख रुपैयाँको सहयोगले उपचारका लागि संघर्ष गरिरहेको परिवारलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ ।
मिस नेपाल आशमा कुमारी केसीले विपद्को समयमा पीडित परिवारलाई एक्लो महसुस हुन नदिन सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताइन् । “प्राकृतिक विपत्तिले मानिसको जीवनमा ठूलो क्षति पुर्याउँछ । यस्तो कठिन अवस्थामा पीडित परिवारलाई साथ र सहयोगको आवश्यकता हुन्छ । हामीले गरेको सहयोग ठूलो समाधान नहुन सक्छ, तर उहाँहरूको दुःखमा हामी पनि साथमा छौँ भन्ने महसुस गराउन सकियोस् भन्ने उद्देश्य हो,” आशमाको भनाइ छ ।
उनले विशेषगरी उपचारका लागि आवश्यक रकमसमेत बाढीले गुमाएका परिवारप्रति समाजका सबै पक्ष संवेदनशील बन्नुपर्ने बताइन् । “उहाँहरूको पीडा सुनेपछि सकेको सहयोग गर्नुपर्छ भन्ने लाग्यो । हामी सबै मिलेर सहयोग गर्यौँ भने कठिन परिस्थितिमा रहेका परिवारलाई केही सहज बनाउन सक्छौँ,” उनले भनिन् ।
बाढीका कारण आफ्नो जीवनभरको बचत गुमाएका परिवारलाई प्राप्त यो सहयोगले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ । पीडित परिवारले अझै पनि श्रीमतीको उपचारका लागि थप आर्थिक सहयोगको आवश्यकता रहेको जनाएको छ ।
विपद्ले बगाएको सम्पत्ति फर्काउन नसकिए पनि संकटमा परेको परिवारलाई साथ दिन सकिन्छ भन्ने सन्देशसहित आशमा केसी, नीति शाह र त्रिसरा रेस्टुरेन्टको यो सहयोगले पीडित परिवारमा आशाको नयाँ किरण थपेको छ ।