नेपालगञ्ज । लामो समयदेखि स्थगित नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने भएको छ।
निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले यात्रुको माग बढेकाले नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढ्दै गएपछि उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।
उनका अनुसार नेपालगञ्ज हुँदै भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान पर्यटनका दृष्टिले महत्वपूर्ण छ। गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु र सञ्चालन खर्च बढ्नुका कारण उडान रोकिएको शाहले बताए। पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्या बढ्नुका साथै यात्रुको मागसमेत बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको उनले जानकारी दिए।
बुद्ध एयरका अनुसार नेपालगञ्ज–पोखरा उडान आइतबार, बुधबार र शुक्रबार सञ्चालन हुनेछ। उडानका लागि बुकिङसमेत खुला गरिएको छ।
उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपालसँगै भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान पर्यटन व्यवसायीका लागि महत्वपूर्ण रहेको बताए।
उनका अनुसार हवाई सेवा सञ्चालन भएपछि पोखरालगायतका क्षेत्रबाट बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा पुग्न सहज हुनेछ। साथै बाँके, बर्दिया, दाङ र सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्नसमेत सहज हुने उनले बताए।
स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि नेपालगञ्ज–पोखरा उडान सातामा तीन दिन सञ्चालनमा आएको थियो।