काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक जे. हार्कर मुस्ताङको लो घ्याकर (घार गुम्बा) पुगेका छन्। लोमान्थाङस्थित चोडे गुम्बामा अमेरिकी दूतावासको अनुदानमा स्थापित ‘मोनचोइ एन्टिक म्युजियम’ उद्घाटन गरेपछि उनी लो घ्याकर पुगेका हुन्।
हार्कर अमेरिकी सहयोगमा संरक्षण तथा पुनःस्थापना भइरहेका मुस्ताङका अन्य गुम्बाहरूको पनि अवलोकन गरेका थिए। अमेरिकी दूतावासका अनुसार हार्करसहित सात सदस्यीय टोलीले लो घ्याकर, जोङ गुम्बा र गोन्पा गाङ पुगेर गुम्बाका अगुवाहरूसँग भेटघाट गरेको थियो। भेटघाटपछि टोली बास बस्न गाडीमार्फत जोमसोम फर्किएको बताइएको छ।
अमेरिकाले दूतावासको ‘एम्बेसडर फन्ड फर कल्चरल प्रिजर्भेसन’ अन्तर्गत मुस्ताङका ऐतिहासिक गुम्बा तथा संरचनाको संरक्षण र पुनर्निर्माणमा सहयोग गर्दै आएको छ। उक्त कोषअन्तर्गत प्रत्येक परियोजनामा २५ हजारदेखि २ लाख ५० हजार अमेरिकी डलरसम्म खर्च हुने गरेको छ। लो घ्याकर गुम्बाको संरक्षण तथा पुनर्निर्माणमा २ लाख ५० हजार अमेरिकी डलर खर्च गरिएको थियो।
हालसम्म अमेरिकी दूतावासले मुस्ताङका लो घ्याकर, जोङ, गोन्पा गाङ, चोडे तथा माथिल्लो मुस्ताङका विभिन्न बौद्ध चोर्टेन र लोमान्थाङका ऐतिहासिक संरचनाको संरक्षणमा उक्त विशेष कोषमार्फत सहयोग गरिसकेको छ।
लो घ्याकर गुम्बाको चित्र सरकारले हालै जारी गर्ने भनिएको १ रुपैयाँको सिक्कामा राख्ने निर्णय गरेको थियो। राष्ट्र बैंकको सिफारिसमा सरकारले गरेको उक्त निर्णयको विरोध भएपछि निर्णय परिवर्तन गर्दै सिक्कामा इन्द्रचोकस्थित आकाश भैरवको चित्र राख्ने बताइएको छ।
अमेरिकी कूटनीतिज्ञ हार्कर गत वर्ष लो घ्याकर गुम्बाको पुनर्निर्माण सम्पन्न भएपछि पनि त्यहाँ पुगेका थिए। त्यसपछि तत्कालीन अमेरिकी राजदूत डीन आर. थम्पसन पनि श्रीमतीसहित लो घ्याकरको अवलोकन गर्न पुगेका थिए।