राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र स्थापनाका विषयमा राष्ट्रिय बहस सुरु गर्न आह्वान गरेको छ। शनिबार काठमाडौंमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पछिल्ला दुई दशकको राजनीतिक अभ्यासले हिन्दु राष्ट्र नेपालको आवश्यकता प्रमाणित गरिरहेको भन्दै यस विषयमा खुला राष्ट्रिय बहसको आवश्यकता औँल्याएको हो।
बैठकले तराई–मधेसमा पछिल्ला दिनमा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ।
राप्रपाले हिंसा, साम्प्रदायिक विद्वेष र धार्मिक असहिष्णुता कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने उल्लेख गर्दै तराई–मधेसमा पटक–पटक देखिने धार्मिक तथा साम्प्रदायिक तनावको दीर्घकालीन समाधानका लागि सर्वपक्षीय संवाद सुरु गर्न सरकारलाई आग्रह गरेको छ।
बैठकले २०६२/६३ को राजनीतिक परिवर्तनपछि अपनाइएको वैचारिक तथा संवैधानिक मार्गचित्रमाथि गम्भीर राष्ट्रिय समीक्षा आवश्यक रहेको निष्कर्ष निकाल्दै वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको अवधारणा कुनै समुदायको अधिकार सीमित गर्न नभई राष्ट्रिय एकता, सांस्कृतिक निरन्तरता, धार्मिक स्वतन्त्रता र सबै नागरिकको समान अधिकार सुनिश्चित गर्ने राष्ट्रिय अवधारणा भएको स्पष्ट गरेको छ।
राप्रपाले अन्त्यमा सम्पूर्ण नेपालीलाई संयम, सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ।