राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आज अपरान्ह शिक्षा, स्वास्थ्य, विद्युत तथा राइड सेयरिङ सेवामा लगाइएको नयाँ करको विरोध गर्दै सामाजिक सञ्जालमार्फत जनदबाब सिर्जना गर्न आह्वान गरेका थिए ।
अध्यक्ष लिङ्देनले केही दिनअघि प्रधानमन्त्रीसंगको भेटमा पनि स्वास्थ्य, शिक्षा, विद्युत, राइड सेयरिङ सेवामा लगाइएको कर जनताको हितमा नरहेको, व्यवहारिक पनि नभएको र सरकारले अविलम्ब फिर्ता लिनुपर्ने राप्रपाको धारणा रहेको बताउनुभएको थियो।
लिङ्देनले आज आफ्नो पहिलो फेसबुक स्टाटसमा शिक्षा, स्वास्थ्य, विद्युत तथा राइड सेयरिङमा लगाइएको नयाँ कर अनुचित रहेको उल्लेख गर्दै, “यी करहरू हटाउन सामाजिक सञ्जालको बाटोबाट व्यापक दबाब सिर्जना गरौं। सेयर गरौं!” भन्ने आह्वान समेत गरेका थिए।
उक्त स्टाटस सार्वजनिक भएको केही समयपछि प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाइएको ३ प्रतिशत कर स्थगन गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्रीको निर्णयपछि अध्यक्ष लिङ्देनले अर्को फेसबुक स्टाटस लेख्दै उक्त निर्णयको स्वागत गरेका छन्। उनले जनप्रतिनिधिले गल्ती सच्याउन लाज मान्नु नहुने उल्लेख गर्दै स्वास्थ्य र शिक्षामा लगाइएको कर स्थगनलाई सकारात्मक कदमका रूपमा व्याख्या गरेका छन्।
साथै, उनले अब विद्युत र राइड सेयरिङ सेवामा लगाइएको कर पनि हटाउन प्रधानमन्त्री शाहलाई आग्रह गरेका छन्। आफ्नो स्टाटसमा उनले “राम्रो कामको स्वागत र नराम्रो कामको खुलेर विरोध गरिन्छ” भन्दै सरकारलाई जनताको हितअनुकूल निर्णय गर्न सुझाव दिएका छन्।
स्वास्थ्य र शिक्षामा कर स्थगनको निर्णयपछि अब विद्युत तथा राइड सेयरिङमा लगाइएको करबारे सरकारले कस्तो निर्णय गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।