काठमाडौँ । नेपाल जेनजी फ्रन्टले संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै फ्रन्टले आफ्ना संयोजक बममाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको हो।
‘बिहीबार शान्तिपूर्ण प्रदर्शनको क्रममा यस फ्रन्टकी संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको हामी घोर भर्त्सना गर्दछौं,’ फ्रन्टले भनेको छ, ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने तथा विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ। संवैधानिक अधिकारको प्रयोग गर्दै सत्य र न्यायको आवाज उठाइरहेकी एक आन्दोलनकारीमाथि यसप्रकारको आक्रमण एक सभ्य लोकतान्त्रिक समाजमा कदापि सह्य हुन सक्दैन।’
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँच बुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अगुवाहरू ६ दिनदेखि माइतीघरमा प्रदर्शनरत छन्। त्यही प्रदर्शनको क्रममा रक्षा बमविरूद्ध आन्दोलनका घाइते अगुवाहरूले नाराबाजी गरेका थिए।
फ्रन्टले आन्दोलनकारीमाथि दुर्व्यवहार गर्दा आन्दोलन थप कमजोर बनाउने बताएको छ।
‘यस आन्दोलनका सबै पात्रहरू घाइते, सहिद परिवार, आन्दोलनकारी र अगुवाहरू सबै एउटै यात्राका साझेदार हौं। यो यात्रामा असहमति हुन सक्छ। प्रश्न उठ्न सक्छन्। पीडाले कहिलेकाहीँ आक्रोशको रूप लिनसक्छ। तर यी प्रश्नहरूको उत्तर एकअर्कामाथि नभई राज्यसँग खोजिनुपर्छ,’ फ्रन्टले भनेको छ, ‘राज्यले अझैसम्म सत्य लुकाएर बसेको छ। जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नहुने सम्भावना बढ्दै गइरहेको छ। यस्तो अवस्थामा एक आन्दोलनकारीमाथि भएको दुर्व्यवहार र आक्रमणले आन्दोलनलाई थप कमजोर बनाउनेछ।’
विज्ञप्तिमा भनिएको छ,‘हामी सधैं जेन–जी विद्रोहका शहीद, घाइते, सम्पूर्ण आन्दोलनकारी र समग्र नेपाली नागरिकको हित तथा अग्रगामी परिवर्तनका लागि लडिरहेका छौं, लडिरहने छौं। यस्ता घटनाले हाम्रो प्रतिबद्धता र मनोबललाई कत्ति पनि विचलित गर्न सक्दैन, गर्नेछैन। सही मुद्दा बोकेर एक्लै भए पनि लड्ने साहस हाम्रो आन्दोलनको पहिचान हो। नेपाल जेन–जी फ्रन्ट आन्दोलनका पक्षमा निरन्तर सतर्क, मुखर र सशक्त भएर उभिनेछ ।’
फ्रन्टले भनेको छ,‘हामीले के पनि बिर्सनु हुँदैन भने रक्षा बम कुनै आकस्मिक नाम होइनन्। भदौ २३ गते बिहान माइतीघर मण्डलामा उभिएर आन्दोलनका अनुशासन र नियमका विषयमा बोल्ने, जडि अड्डामा अनधिकृत प्रवेशको विरोध गर्दै निर्वाचित राष्ट्रपतिसँग मात्र छलफल गर्ने अडान राख्ने, त्यस सड्ककालीन घडीमा पनि नडगमगाई लोकतान्त्रिक मूल्यको ढाल बनेको नाम रक्षा बम हो। सिङ्गो देश नै परिवर्तनको पक्षमा उभिएको र आन्दोलनको बलमा संसदमा पुग्न अत्यन्त सहज रहेको अवस्थामा पनि रक्षा बमले सडक रोजेकी हुन्। बहुसंख्यक दुःखी, गरिब, शोषित, पीडित, अल्पसंख्यक, निमुखा र सीमान्तकृत मानिसहरूको मुद्दा बोकेर आफ्नो सिद्धान्तमा अडिग रहने प्रतिबद्धता उनले गरेकी छिन्।’
यस्तो छ विज्ञप्ति–
