बेइजिङ। चिनियाँ राष्ट्रपति सी जिङपिङले बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा आयोजित स्वागत समारोहमा वसन्त पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै चिनियाँ नयाँ वर्ष — घोडा वर्ष — लाई स्वागत गरेका छन्। उनले पार्टी केन्द्रीय समिति र राज्य परिषद्को तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण चिनियाँ जनतालाई नयाँ वर्षको शुभकामना दिएका हुन्।
चीनको कम्युनिष्ट पार्टी (सीपीसी) का महासचिव तथा केन्द्रीय सैनिक आयोगका अध्यक्षसमेत रहेका सीले समाप्त हुन लागेको सर्प वर्षलाई असाधारण वर्षका रूपमा चित्रित गर्दै जटिल र अस्थिर अन्तर्राष्ट्रिय तथा आन्तरिक परिस्थितिका बीच चीनले चुनौतीलाई डटेर सामना गर्दै नयाँ प्रगति हासिल गरेको उल्लेख गरे। उनका अनुसार चीनको आर्थिक शक्ति, वैज्ञानिक तथा प्राविधिक क्षमता, राष्ट्रिय रक्षा शक्ति र समग्र राष्ट्रिय क्षमता नयाँ उचाइमा पुगेको छ।
सीले गत वर्ष चीनको अर्थतन्त्रले दबाबका बाबजुद निरन्तर वृद्धि कायम राख्दै बलियो सहनशीलता र जीवन्तता प्रदर्शन गरेको बताए। कानूनमा आधारित शासन, सांस्कृतिक उन्नयन, पारिस्थितिक संरक्षण र राष्ट्रिय रक्षाजस्ता क्षेत्रमा समेत उल्लेखनीय प्रगति भएको उनको भनाइ छ।
उनले २०२६–२०३० अवधिका लागि १५औँ पञ्चवर्षीय योजनाको खाका तयार पारिएको, जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्ध तथा विश्व फासीवादविरुद्धको युद्धमा विजयको ८०औँ वार्षिकोत्सव मनाइने तयारी भएको, ताइवान पुनःप्राप्ति दिवस स्थापना गरिएको तथा विभिन्न स्वायत्त क्षेत्रका स्थापना दिवस मनाइने जस्ता महत्वपूर्ण उपलब्धि स्मरण गरे। साथै, चीनले ग्लोबल गभर्नेन्स इनिसिएटिभ अघि सारेको र साङ्घाई सहयोग संगठन शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेको उल्लेख गर्दै उनले विश्वमा परिवर्तन र उथलपुथलबीच चीनले स्थिरता र सकारात्मक ऊर्जा प्रदान गरेको दाबी गरे।
सीका अनुसार भ्रष्टाचारविरुद्धको अभियानमा उल्लेखनीय उपलब्धि हासिल भएको छ र पार्टीले पूर्ण तथा कडाइका साथ आत्म-शासन अभ्यास गरिरहेको छ। यी सबै उपलब्धि सम्पूर्ण पार्टी सदस्य र विभिन्न जातीय समूहका जनताको संयुक्त प्रयासबाट सम्भव भएको उनले बताए।
सन् २०२६ मा चीनको कम्युनिष्ट पार्टी स्थापना भएको १०५ वर्ष पूरा हुँदैछ र १५औँ पञ्चवर्षीय योजना सुरु हुँदैछ। त्यस सन्दर्भमा उनले उच्च-गुणस्तरीय विकासलाई निरन्तरता दिन, सामाजिक सद्भाव र स्थिरता कायम राख्न तथा पार्टी अनुशासन सुदृढ बनाउन आह्वान गरे। घोडा वर्षले ऊर्जा, शक्ति र सहनशीलताको प्रतीक बोकेको उल्लेख गर्दै उनले चिनियाँ जनतालाई उच्च मनोबलका साथ चिनियाँ आधुनिकीकरणको नयाँ यात्रामा अघि बढ्न आग्रह गरे।
यसैबीच, चिनियाँहरूले फेब्रुअरी १७ (फागुन ५ गते) बाट नयाँ वर्ष मनाउँदै छन्। सर्प वर्षलाई बिदा गरेर घोडा वर्ष भित्र्याउने यस पर्वलाई चिनियाँ भाषामा ‘छुनच्ये’ अर्थात् वसन्त चाड भनिन्छ। ‘छुन’ को अर्थ वसन्त र ‘च्ये’ को अर्थ चाड हो। यो चीनको सबैभन्दा ठूलो र महत्वपूर्ण पर्व मानिन्छ।
चिनियाँ लोककथाअनुसार ‘नियान’ नामको डरलाग्दो राक्षस वसन्त ऋतुमा गाउँमा आएर मानिसलाई दुःख दिने गर्थ्यो। एक साधुले नियान चर्को आवाज, रातो रङ र आगोसँग डराउने जानकारी दिएपछि गाउँलेहरूले पटका पड्काउने, रातो सजावट गर्ने र आगो बाल्ने चलन सुरु गरेका थिए। त्यसपछि नियान कहिल्यै फर्केर आएन भन्ने विश्वास छ। यही कथासँग जोडेर नयाँ वर्षमा रातो सजावट, लालटिन झुन्ड्याउने र आतिशबाजी गर्ने चलन विकसित भएको मानिन्छ।
वातावरणीय प्रदूषण रोक्न चीन सरकारले सन् २०१६ देखि पटका पड्काउने र बिक्री वितरणमा कडाइ गरेपछि अहिले सीमित मात्रामा आतिशबाजी हुने गरेको छ। तर रातो सजावट र पारिवारिक जमघटको परम्परा भने अझै कायम छ।
नयाँ वर्षमा ‘होङपाओ’ अर्थात् रातो थैलीमा पैसा राखेर सानालाई दिने चलन पनि लोकप्रिय छ। डिजिटल युगसँगै मोबाइलबाटै अर्थपूर्ण रकम पठाउने प्रचलन बढेको छ। जस्तै ५.२० युआन पठाउने चलन ‘म तिमीलाई माया गर्छु’ भन्ने उच्चारणसँग मिल्ने भएकाले विशेष मानिन्छ।
वसन्त चाडका अवसरमा विशेष परिकार पनि बनाइन्छ। ‘च्याउच’ (डम्प्लिङ), ‘नियन काओ’ (नयाँ वर्षको केक) र माछा धन, समृद्धि र सफलताको प्रतीक मानिन्छन्। लामो चाउचाउ दीर्घायुको संकेतका रूपमा खाइन्छ।
ढोकामा टाँसिने रातो ‘फु’ अक्षर पनि यस पर्वको आकर्षण हो। ‘फु’ को अर्थ सुख, समृद्धि र भाग्य हो। यसलाई सुल्टो वा उल्टो दुवै रूपमा टाँस्ने चलन छ। उल्टो ‘फु’ ले ‘सुख आइपुग्यो’ भन्ने अर्थ दिने विश्वास गरिन्छ।
एक साताभन्दा बढी लामो बिदा, विशाल पारिवारिक जमघट, अर्बौं मानिसको आवतजावत र वार्षिक खर्चको ठूलो हिस्सा यही पर्वमा हुने भएकाले चिनियाँ नयाँ वर्षलाई विश्वकै सबैभन्दा ठूलो मानव उत्सवमध्ये एक मानिन्छ। घोडा वर्षको स्वागतसँगै चिनियाँ समाज फेरि एकपटक नयाँ ऊर्जा र आशासहित अघि बढ्ने तयारीमा छ।
पिपुल्स डेली अनलाइन