काठमाडौँ । काठमाडौँको पशुपतिनाथमा आज महाशिवरात्रि पर्व मनाइँदै छ । महाशिवरात्रिको अवसरमा पशुपति मन्दिर दर्शन गर्न करिब ७ लाख दर्शनार्थी आउने आकलन पशुपति क्षेत्र विकाश कोषले गरेको छ ।
ठुलो सङ्ख्या दर्शनार्थी सहभागी हुने पशुपति क्षेत्रमा स्थानीय प्रशासनले सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गरेको छ । जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर सुरक्षा योजना लागु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पशुपति मन्दिर परिसरमा प्रहरीले कमान्ड पोस्ट बनाएको छ । बालबालिका हराउने, चोरी, डकैती र अन्य उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न कमान्ड पोस्टमा परिसर काठमाडौँका एसपी पवन भट्टराई खटिनेछन् । पशुपति क्षेत्रको सुरक्षामा ३ हजार ७ सय प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ । निर्वाचन प्रहरीलाई पनि सुरक्षामा परिचालन गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी र महानगर प्रहरी सहित करिब ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको एसएसपी थापाले जानकारी दिए । शनिबार पशुपति क्षेत्रमा गएर गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल सहितका अधिकारीहरुले सुरक्षा तयारीबारे जानकारी लिएका थिए ।
पशुपति क्षेत्र विकाश कोषले दर्शन सहज बनाउन बिहानैदेखि चार वटै ढोका खुल्ला गरेको छ ।
महाशिवरात्रिको महिमा
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् भगवान् शिव को अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ ।
पुराण अनुसार शिवजी प्रकट भएको रातको स्मरणमा मनाइने यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा वर्णन गरिएको छ । यस दिनलाई विशेष गरी दुःखी, कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिन मानिन्छ ।
महाशिवरात्रिका अवसरमा भक्तजनहरू शुद्ध भई शिव मन्दिरहरूमा पूजा, अर्चना गर्दै व्रत बस्ने परम्परा छ । भगवान् शिवलाई प्रिय मानिने दूध, धतुरो र बेलपत्र चढाउने गरिन्छ । यस दिनलाई शिव–पार्वती विवाह तथा ब्रह्माले रूद्ररूपी शिव उत्पत्ति गराएको दिनका रूपमा पनि मान्यता दिइन्छ ।
शिव पुराण अनुसार यस दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप गर्दा पृथ्वीमा सुख समृद्धि प्राप्त भई मृत्युपछि मोक्ष प्राप्त हुने विश्वास छ । त्यस्तै लिङ्ग पुराणमा उपवास, ध्यान र पूजाबाट शिव लोक प्राप्त हुने उल्लेख गरिएको छ भने पद्य पुराण अनुसार व्रत बस्ने पुरुष वा महिला आरोग्य र सौभाग्यले सम्पन्न हुने विश्वास गरिन्छ ।
शिवरात्रिको मुख्य पूजा विधिमा निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा तथा शिवलिंगमा दुग्धाभिषेक प्रमुख मानिन्छ । प्रत्येक प्रहरमा जल, दूध, दही, घिउ, मह र बेलपत्र अर्पण गरिन्छ । शिवमहापुराणको कोटिरुद्रसंहितामा शिवरात्रि व्रतलाई सबैभन्दा उत्तम धर्मसाधनका रूपमा व्याख्या गरिएको छ ।
शिवमहापुराणको कोटिरुद्रसंहितामा शिवरात्रिको महत्त्व बताउँदै भनिएको छ ।
शिवरात्रिव्रतादन्यन्नास्ति नृणा शितावहम् ।
एतत् व्रत तु सर्वेषा धर्मसाधनमुत्तमम् ।।
निष्कायानां सकामानां सर्वेषाञ्च नृणां तथा ।
वर्णानामाश्रमाणाञ्च स्त्रीवालानां तथा हरे १ ।।
दासानां दासिकानाञ्च देवादीना तथैव च ।
शरीरिणाञ्च सर्वेषा हितमेतद् व्रतं वरम् ।। (शिवम्पुराण कोटिरुद्रसंहिता ३८÷२१–२३)
अर्थात– मानिसहरूको हित गर्ने शिवरात्रि समान अन्य कुनै व्रत छैन । यसबाट मानिसहरूले धर्म प्राप्त गर्दछन् । निष्काम कर्म गर्ने अथवा सकाम कर्म गर्ने सबै प्रकारका भक्तहरू यसबाट लाभान्वित हुन्छन् । ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र यी चार वर्ण एवं ब्रह्मचर्य, गार्हस्थ्य, वानप्रस्थ र संन्यास यी चार आश्रमका मानिसहरूले श्रद्धापूर्वक शिवरात्रिव्रत सम्पन्न गरेमा उनीहरु वर्ण र आश्रमसम्मत आ–आफ्नो उद्देश्य सफल तुल्याउन समर्थ हुन्छन् । यो व्रत नरनारी, बालक, बालिका र सबै वर्णका मानिसहरू सबैले श्रद्धापूर्वक गर्नुपर्दछ । यस व्रतबाट विभिन्न प्राणीहरू, मानवजाती, देवता, पितृ, ऋषि–महर्षि सबैको कल्याण हुन्छ ।
यस अवसरमा पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर महादेव मन्दिर, देवघाट धाम, खोटाङको हलेसी महादेव मन्दिर लगायत देशभरका शिव मन्दिरहरूमा दर्शनार्थीहरूको घुइँचो लागेको छ। पशुपतिनाथ क्षेत्रमा विशेष मेला लाग्नुका साथै स्वदेश तथा भारतबाट आएका साधु सन्तहरूको उल्लेखनीय उपस्थिति देखिएको छ ।
यसैगरी भारतका काशी विश्वनाथ मन्दिर, केदारनाथ मन्दिर, सोमनाथ मन्दिर र महाकालेश्वर ज्योतिर्लिङ्ग लगायतका प्रसिद्ध शिव धामहरूमा पनि भक्तजनहरूको ठुलो भीड लागेको छ ।
नेपालका विभिन्न शिवालयमा दर्शनार्थीको ठुलो भीड जम्मा भएका रिपोर्टहरु प्राप्त भएका छन् ।