काठमाडौँ । कास्की जिल्लाको ऐतिहासिक शैक्षिक थलो जनज्योति माध्यमिक विद्यालयका भूपू विद्यार्थीहरूको भेला तथा पुनर्मिलन कार्यक्रम आयोजना हुने भएको छ ।
जनज्योति मावि भूपू विद्यार्थी मञ्च पोखरा–२८, कालिकास्थानको आयोजनामा यही माघ २४ गते शनिबार भूपू विद्यार्थीहरूको बृहत् भेला, पुनर्मिलन तथा बनभोज कार्यक्रम हुने भएको हो ।
विद्यालय स्थापनादेखि हालसम्म यहाँ अध्ययन गरेका विद्यार्थीहरूबीच आपसी सद्भाव, भाइचारा र परिचय विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मञ्चले जनाएको छ । लामो समयपछि एउटै थलोमा भेला भएर पुराना सम्झना ताजा गर्ने, जीवनका अनुभव साटासाट गर्ने र विद्यालयप्रतिको अपनत्व अझ सुदृढ बनाउने कार्यक्रमको मूल अभिप्राय रहेको आयोजकको भनाइ छ ।
मञ्चका संयोजक कीर्तिबल्लभ त्रिपाठीका अनुसार कार्यसमिति पदाधिकारी, सदस्य, सल्लाहकार तथा विद्यालयका सरोकारवाला शिक्षक र अभिभावकहरूसँग भएको छलफलपछि कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको हो । “सबै पुस्ताका विद्यार्थीलाई एउटै सूत्रमा बाँध्ने, भावनात्मक सम्बन्ध पुनः जोड्ने र संस्थागत रूपमा संगठित हुने यो एउटा ऐतिहासिक अवसर हो,” उनले भने ।
कार्यक्रममार्फत यसअघि जनज्योति माविलाई आफ्नो शैक्षिक थलो बनाएका र हाल देश–विदेशका विभिन्न स्थानमा रहेर अध्ययन, व्यवसाय, सेवा तथा अन्य पेशामा संलग्न भूपू विद्यार्थीहरूको बृहत् सहभागिता सुनिश्चित गर्ने लक्ष्य लिइएको छ । आगामी दिनमा भूपू विद्यार्थीहरूबीच नियमित सम्पर्क, सहयोग र सहकार्य कायम गर्दै विद्यालयको शैक्षिक, भौतिक तथा सामाजिक विकासमा थप टेवा पुर्याउने दीर्घकालीन उद्देश्य समेत मञ्चले अघि सारेको छ ।
वि.सं. २०१६ सालमा स्थापना भएको जनज्योति माध्यमिक विद्यालय २०२६ सालदेखि एसएलसी परीक्षामा समावेश हुँदै आएको छ । दशकौँ लामो शैक्षिक यात्रामा यस विद्यालयबाट अध्ययन गरेका हजारौँ विद्यार्थी आज देशका विभिन्न क्षेत्रमा स्थापित र सफल व्यक्तित्वका रूपमा परिचित छन् । विद्यालयमा भर्ना भई बीचमै अध्ययन छोडेका विद्यार्थीहरू समेत गरी करिब दुई हजार भूपू विद्यार्थी तथा तीन पुस्ताका एक हजारभन्दा बढी विद्यार्थी कार्यक्रममा सहभागी हुने आयोजकको अपेक्षा छ ।
मञ्चका सचिव गुरु प्रसाद त्रिपाठीका अनुसार हालसम्म जनज्योतिमा अध्ययन गरेका सबै भूपू विद्यार्थीलाई कार्यक्रममा सहभागी हुन पत्राचार तथा सूचना प्रवाह गरिएको छ । सामाजिक सञ्जाल, प्रत्यक्ष सम्पर्क र अन्य माध्यममार्फत सूचना पुर्याउने काम भइरहेको उनले जानकारी दिए ।
कार्यक्रम पोखरा–२६ स्थित नमस्ते पार्टी प्यालेसमा आयोजना गरिनेछ । कार्यक्रममा सहभागी भई पुनर्मिलनलाई सफल बनाउन सम्पूर्ण भूपू विद्यार्थीलाई मञ्चले हार्दिक अनुरोध गरेको छ । आयोजकका अनुसार कार्यक्रममा सांस्कृतिक प्रस्तुति, आपसी परिचय, स्मरणीय क्षणको साझा र आगामी योजनाबारे छलफल समेत हुने छ ।
माछापुच्छ्रे हिमालको सम्मुखमा अवस्थित जनज्योति माध्यमिक विद्यालय प्राकृतिक सौन्दर्यसँगै शैक्षिक गरिमाका कारण कास्की जिल्लाकै विशिष्ट विद्यालयका रूपमा चिनिन्छ । ग्रामीण परिवेशमा स्थापना भएर पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको स्थानीयको भनाइ छ । अनुशासन, मेहनत र सामाजिक मूल्यमा आधारित शिक्षाले यहाँका विद्यार्थीलाई सक्षम नागरिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
भूपू विद्यार्थीहरूको यो भेला केवल भेटघाटमा सीमित नरही विद्यालयको भविष्यसँग जोडिने एउटा सशक्त पहल बन्ने विश्वास आयोजकले व्यक्त गरेका छन् । पुस्तौँपुस्ताको सम्झना, अनुभव र योगदानलाई एउटै मञ्चमा जोड्दै जनज्योति स्कुलको महत्व र गरिमा अझ उचो बनाउने अपेक्षासहित कार्यक्रम आयोजना हुन लागेको हो ।