काठमाडौँ । जेन–जी आन्दोलनपछि गठित नयाँ सरकारले शिक्षा क्षेत्रमा सुधार गर्न नसकेपछि विद्यार्थीहरु हड्तालमा उत्रने भएका छन् ।
यसको नेतृत्व गर्दै जनपक्षीय विद्यार्थी युनियनले विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न मागहरू राख्दै युनियनले आन्दोलनको घोषणा गरेको हो । अध्यक्ष सुनिता बुढाथोकीले प्रेस विज्ञप्ति जारी गर्दै पौष ७ गते उपत्यकाव्यापी शैक्षिक हडताल लगायत आन्दोलनका कार्यक्रमबारे जानकारी दिएकी छिन् ।
विज्ञप्तिमा बिदेशमा रहेका नेपाली बिद्यार्थी,श्रमिकलगायत सम्पुर्ण मतदाता हरुलाई आसन्न निर्वाचन देखि मतदानमा सहभागी हुने व्यवस्था गर्नुपर्ने, निजी विद्यालयहरूले विभिन्न शीर्षकमा मनोमानी असुल्दै आएको शुल्क घटाउनुपर्ने लगायतका १३ बुँदे माग अघि सारेको जानकारी दिइएको छ ।
युनियनले आफ्ना जनपक्षीय मागहरू पुरा गर्न नेपाल सरकार तथा सम्बन्धित सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउदै विद्यार्थी तथा नागरिकका संबैधानिक तथा लोकतान्त्रिक हक, अधिकार खोस्ने कुनै पनि गतिविधि युनियन लाई सह्य र स्विकार्य नहुने भन्दै यस्ता गतिविधि भएमा कडा प्रतिरोधमा उत्रने चेतावनी समेत दिइएको छ ।
जेन–जी आन्दोलनबाट निर्मित सरकारले चुनाव मात्र नभई समग्र शिक्षा क्षेत्रको सुधारमा जोड दिनुपर्ने युनियनको माग रहेको छ ।
युनियन द्वारा जारी आन्दोलनका कार्यक्रमहरु-

१) पौष २ गते – राष्ट्रपति, प्रधानमन्त्री, शिक्षा मन्त्री तथा निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउने ।
२) पौष ३ गते – प्याब्सन र एन–प्याब्सनसँग अन्तरक्रिया गर्ने ।
३) पौष ४ गते – मित्र विद्यार्थी संगठनहरूसँग अन्तरक्रिया तथा बैठक गर्ने ।
४) पौष ५ गते – विद्यार्थी संगठन, अभिभावक तथा शिक्षकबीच अन्तरक्रियातथा बैठक गर्ने ।
५) पौष २, ३, ४, ५ र ६ गते – स्कुल दैलो तथा कलेज दैलो कार्यक्रम ।