काठमाडौँ । निर्वाचन कार्यतालिका अनुसार एमालेको नेतृत्व चयनको लागि मंगलबार मतदान हुनुपर्ने थियो । तर भएन । अब आजदेखि भोटिङ हुनेछ ।
अध्यक्षका दुई उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल मंगलबार साँझ मतदानका लागि हलमा पुगेर भोट नदिई फर्केका थिए ।
राती सवा ८ बजे महासचिव शंखर पोखरेलले आज बिहान ८ बजेसम्मको लागि स्थगित भएको जानकारी गराए ।
‘प्राविधिक कारणले गर्दा मतदान प्रक्रिया सुरु गर्न सकिएको छैन,’ पोखरेलले भने, ‘चिसो मौसमका कारणले पनि हामी लामो समय प्रतिक्षा गर्नसक्ने अवस्थामा छैनौं । त्यस अवस्थामा मंगलबार गर्ने भनिएको मतदान आज बुधबार यसै स्थानमा गरिने जानकारी गराइन्छ ।’
एमालेले इलेक्ट्रोनिक भोटिङ गर्न लागेको हो । प्राविधिकि रूपले मेसिन जडान गर्ने काम सबै सकिएको छ ।
पहिलो कारण हो प्राविधिक । उम्मेदवारहरूको नाम, मतदाता नामावलीमा केही हेरफेर, क्लस्टरमा तल माथि परिवर्तन गर्न समय लागेकाले मतदान हुन नसकेको हो ।
‘टेक्निकल्ली डाटा फिट गर्ने टाइम पुगेन,’ प्राविधिक लक्ष्मण रिमालले भने ।
मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कूल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।
ओली र ईश्वर पोखरेल समूह प्यानल बनाएर प्रतिस्पर्धामा छन् ।