काठमाडौँ । भुइँमान्छेको पीडा, राज्यको उदासीनता र आसन्न निर्वाचनमाथि देखिन थालेको जोखिमको विषयमा आवाज उठाउँदै ‘नागरिक समाज’ ले आइतबार राजधानीमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा बोल्दै नागरिक अभियन्ता फणीन्द्र नेपालले देशभर लुटिएका हतियार र गोलीको अवस्थाले निर्वाचन नै असुरक्षित बनाउने खतरा रहेको बताए।
सरकारी तथ्यांक अनुसार लुटिएका हतियारमध्ये करिब आधाभन्दा बढी अझै फेला नपरेको भन्दै उनले भने, “लाखौँ थान गोली हराइरहेका छन्, तर गृहमन्त्री खोलामा बगे भन्ने गैरजिम्मेवार जवाफ दिइरहेका छन्। यस्ता अभिव्यक्तिले राज्यको असफलता मात्र देखाउँछ।” उनले राज्यले जिम्मेवारी स्वीकार नगरेसम्म जोखिम घट्न नसक्ने चेतावनी दिए।
नेपालले जेनजी आन्दोलनलाई अरुको बारी खनिदिएको जस्तो बनाइएको आरोप लगाउँदै भने, “हामी निर्वाचनको विरोध गर्दैनौँ, तर लुटिएका एक थान हतियार वा एक गोली पनि कसैको जीवनका लागि घातक हुन्छ। गोलीमा कसैको नाम लेखिएको हुँदैन।” उनले जेनजीमाथि लगाइँदै आएको आरोपको खण्डन गर्दै सरकारसँग उनीहरूका माग सम्बोधन गर्न आग्रह गरे।

कार्यक्रममा एआईजी रणबहादुर चन्द (उपाध्यक्ष) ले लुटिएका हतियार तत्काल नियन्त्रणमा लिन राज्यलाई आग्रह गर्दै भने, “यी हतियारले निर्वाचनमा ठूलो गडबडी निम्त्याउन सक्छन्। उम्मेदवार, मतदाता र कर्मचारी सबै जोखिममा छन्।” उनले पार्टीहरूको भूमिकालाई पनि स्मरण गराउँदै ‘नेशनल कल’ मार्फत हतियार फिर्ता गराउने अभियान आवश्यक भएको बताए।
नागरिक समाजले फेला परेका हतियार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न, सबै सुरक्षा निकायलाई अलर्टमा राख्न र सरकारले जिम्मेवारी पूरा गरेर मात्र विश्राम लिन चेतावनी दिएको छ।