काठमाडौँ । नेपालको राजनीतिक आकाशमा लोकप्रिय रूपमा उदाएको नेकपा (क्रान्तिकारी केन्द्र) ले नयाँ जनपक्षीय संयुक्त सरकारको माग गरेको छ ।
वर्तमान सुशिला सरकारले पुरानो सत्तापक्षीय सरकारको भूमिका मात्र दोहोर्याएको आरोप लगाउँदै पार्टीले नयाँ जनपक्षीय संयुक्त सरकार गठन हुनुपर्ने जनाएको हो ।
पार्टीका अनुसार बढ्दो राष्ट्रिय संकट, राजनीतिक अन्तरविरोध र सर्वत्र फैलिएको भ्रष्टाचारका कारण देश जटिल मोडमा पुगेको छ, र यस अवस्थामा नयाँ जनपक्षीय राजनीतिक संयोजन वा समीकरण आवश्यक छ ।

जेन–जी नवयुवा ध्रुवीकरण कार्यक्रममा विचार राख्दै पार्टीका संयोजक वसन्तले देशमा नयाँ जनपक्षीय आन्दोलन अपरिहार्य बन्न पुगेको स्पष्ट पारे ।
युवालाई आश्वस्त पार्दै उनले भने, ‘नवयुवाहरूको बलिदान केका लागि थियो ? शोषण उस्तै छ, निरंकुशता झन् गहिरिँदो छ, परनिर्भरता बढ्दो छ, भ्रष्टाचार उस्तै छ, महँगी आकाशिँदै छ, रोजगार कटौती र बेरोजगारी झन् गहिरिँदै छ, युवा पलायन उस्तै छ, वैदेशिक हस्तक्षेप झनै बढेको छ । यी सबैको अन्त्यका लागि थियो बलिदान—जनपक्षीय सत्ता र आर्थिक क्रान्तिका लागि थियो बलिदान । तर वर्तमान सुशिला सरकारले आफ्नो मूल नारा नै पुरानो सत्ताको चुनावलाई बनाएको छ । त्यसकारण सुशिला सरकार पुरानो सत्तापक्षीय सरकार नै हो । अब बलिदानलाई संगठित गरौँ, नयाँ जनपक्षीय आन्दोलनमा जुटौँ । यसपटक संगठनको शक्ति नै निर्णायक हुनेछ ।’
कम्युनिस्ट राजनीतिमा खारिएका वसन्तले नेपालको समृद्धिका लागि सत्ता युवाहरूको हातमा आउनुपर्ने र त्यो सत्ता जनपक्षीय हुनुपर्ने आवश्यकता औँल्याए ।

हालै एकीकृत भएको नेकपा (क्रान्तिकारी केन्द्र) ले जनदबाब र नवयुवाको उभारका आधारमा नयाँ जनपक्षीय सरकार तथा नयाँ राजनीतिक विकल्प निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने स्पष्ट पारेको छ । त्यसका लागि बृहत् युवासहभागितामा आधारित जनपक्षीय सरकारको अवधारणा केन्द्रले अघि बढाउने संकेत दिएको छ ।
हाल क्रान्तिकारी केन्द्रमा जेन–जी पुस्ता र युवावर्गको उल्लेखनीय आकर्षण देखिँदै आएको छ ।
