काठमाडौँ । विभिन्न राजनीतिक दलहरूबीच जोडिने, फुटिने र नयाँ दल बन्ने लहर चलेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पनि एकताको पहल सुरु भएको छ ।
एकताको सन्देशमूलक संकेत दुवै पार्टीका अध्यक्षहरूले दिएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भएको सौहार्दपूर्ण भेटवार्ताले पनि एकताको सन्देश दिएको छ ।
काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा मंगलबार अपराह्न दुई अध्यक्षबीच भेटवार्ता भएको हो । दुबै नेताहरूको भेटका तस्वीरहरू लिङ्देनले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
पार्टी एकतालगायतका विषयमा उनीहरूबीच विस्तृत कुराकानी भएको नेताहरूले जानकारी दिएका छन् । राप्रपा नेपालले केही समयअघि नै राप्रपासँग पार्टी एकताको प्रस्ताव राख्दै आएको छ ।
समान विचार र नीति भएका राजनीतिक दल र शक्तिहरूबीच एकताको पक्षमा राप्रपा नेपाल उभिएको जनाएको छ । यसै क्रममा राप्रपा नेपालले नेता राजीव पराजुलीको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । उक्त समितिले यसअघि राप्रपा अध्यक्ष लिङ्देनसँग भेटवार्ता गर्दै औपचारिक एकता प्रस्ताव समेत प्रस्तुत गरेको थियो ।
लिङ्देनअघि थापा नै राप्रपाका अध्यक्ष थिए । अधिवेशनमा थापा पराजित भएपछि राप्रपा फुटेर राप्रपा नेपाल बनेको थियो ।
राजतन्त्रको पक्षमा वकालत गर्दै आएका दुबै अध्यक्ष—लिङ्देन र थापा—गणतन्त्रवादी सरकारमा मन्त्री बनेपछि आफ्ना कार्यकर्तामाझ आलोचनाको निशानामा परेका थिए । अहिले दुबै नेताले प्रायश्चितभावका साथ पार्टीका मूल एजेन्डाबाट विचलन नगरी अघि बढ्ने प्रतिबद्धता जनाएका स्रोतले जनायो ।