काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि बल पुर्याउन एकता सभामा आएको बताएका छन् ।
म लहडमा आएको होइन, कम्युनिष्ट एकता अझ बलियोहोस् भन्ने अभिप्रायले आएको हुँ, उनले भने ।
बुधबार नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १० दलको एकता सभामा बोल्दै खनालले विगतको गल्ती समीक्षा गरेर अगाडि बढ्न नेतृत्वलाई सचेत गराए ।
‘कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउन चाहन्छौँ । कम्युनिस्ट पार्टीमा केही केही चिज पसेको छ । त्यसले कम्युनिस्ट पार्टीले फुटाएको छ । त्यसमा ध्यान दिएर अगाडि बढाउनुपर्छ’, उनले भने, ‘म ढिलोगरी आएको हुँ । मैले प्रचण्डसँग भनिसकेको छु । उहाँले हुन्छ सम्बोधन गर्छु भनेका छन् । त्यही विश्वास लिएर आफ्नो केहि विमति भएपनि आएको हुँ । कम्युनिस्ट एकतालाई बलियो बनाउन आएको हो ।’
नेतृत्वमा भएको कमजोरीका कारण आसालाग्दो पार्टी विभाजन भयो उनले बताए । खनालले भने,‘नेतृत्व पंक्तिमा समस्या छ । के कारणले यस्तो भयो ? सबैले आत्मसमीक्षा गर्नु आवश्यक छ । हिजोको गल्ती सच्याउन सकिएन भने फेरि पनि त्यही अवस्था आउँछ ।’
कार्यक्रममा गत भदौ २३ गते जेनजीहरूले गरेको आन्दोलन जायज भएपनि नयाँबानेश्वर पुगेपछि चन्ड मुसन्डले हाइज्याक गरेको खनालले आरोप लगाए ।
देशी विदेशी प्रतिक्रियावादीहरूको अन्त्यका लागि नयाँ धारबाट क्रान्ति गर्नुपर्ने उनले बताए । नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा पुगेका नेता खनालले अब नफुट्ने संकल्प लिएर अघि बढ्नुपर्ने बताए ।
‘यहाँ आज एकताका लागि जम्मा हुनुभएका सबै घटकहरूलाई भन्न चाहन्छु, अब हामी कहिल्यै फुट्ने छैनौं । यो संकल्पका साथ अघि बढौं,’ उनले भने ।
यसअघि पनि कम्युनिस्ट एकता भएको जिकिर गर्दै ‘ए’ र ‘कता’ बेग्लाबेग्लै भएको बताए ।
‘यो भन्दा अगाडि पनि हामीले एकता त ग¥यौं नि कमरेडहरू । तर ए बेग्लै भयो कता कता भयो । अरु हामी यहाँ जम्मा भएका पार्टीभन्दा बाहिर थुप्रै पार्टी छन् । म उहाँहरूलाई पनि भन्न चाहन्छु, नयाँ ढंगले सोचौं,’ उनले भने ।
कम्युनिस्टहरू एकअर्काबीच आरोप प्रत्यारोप नगर्न पनि आग्रह गरे ।
कम्युनिष्टका शालीन नेता खनाललाई आफ्नो पार्टीमा लैजान केपी ओलीले निकै प्रयास गरेका थिए । तर, एमालेमा ओलीको निरंकुशशैलीका कारण बस्न नसकिने खनाल पक्षधरको निष्कर्षका साथ उनी प्रचण्ड र माधव नेपालकै साथमा फर्किएका हुन् ।