काठमाडौँ । बृहत् कम्युनिष्ट एकताको तयारी तीव्र भइरहेका बेला नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता हुने भएको छ ।
खनालले हिजो साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए भने आज बिहान उनले प्रचण्डसँग भेट गर्ने तयारी गरेका हुन् । स्रोतका अनुसार, झलनाथ खनाल ओलीभन्दा बढी प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा भइरहेको एकीकरणप्रति चासो देखाइरहेका छन् ।
खनाल निकट स्रोतका भनाइमा, आजको भेटमा वाम दलहरूबीचको एकता र सबै वामपन्थी शक्तिहरूलाई एउटै मञ्चमा ल्याउने विषयमा गम्भीर छलफल हुनेछ ।
उनको सचिवालयले जनाएको छ— “वाम दलहरू एकताबद्ध हुनैपर्छ भन्ने विश्वासमा खनाल अझै दृढ हुनुहुन्छ । आजको भेटमा उहाँले प्रचण्ड र माधव नेपालसँग यही विषयमा विशेष चासो देखाउनु हुनेछ ।”
पार्टी एकताका सन्दर्भमा खनालले चारवटा मुख्य सर्त अघि सारेका छन् —
पहिलो, माक्र्सवाद र लेनिनवादलाई मात्र पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्नुपर्ने । जबज वा अन्य वैचारिक भिन्नता रहने विषय होइन भन्ने उनको भनाइ छ ।
दोस्रो, अहिले समाजवादी क्रान्तिको युग भएकाले सबैले समाजवादी क्रान्ति अगाडि बढाउनुपर्ने मान्यता अंगीकार गर्नुपर्ने ।
तेस्रो, पार्टीको एउटै केन्द्रीय कार्यक्रम “समाजवादी कार्यक्रम” हुनुपर्छ भन्ने सहमति आवश्यक छ ।
चौथो, समाजवादी कार्यक्रम प्राप्त गर्नका लागि नीति, सिद्धान्त र कार्यदिशामा एकरूपता कायम गर्नुपर्ने ।
खनालका अनुसार, यी चार सर्त स्वीकृत गर्ने दलहरूसँग मात्र पार्टी एकता सम्भव हुनेछ । स्रोतका भनाइमा, प्रचण्ड र माधव नेपाल दुवै नेताले खनालका सर्तहरूलाई सकारात्मक रूपमा लिएको संकेत दिएका छन् ।
एकीकृत समाजवादीबाट माधव कुमार नेपालसहित र माओवादी केन्द्रसँग आज बृहत एकता हुनेछ ।