काठमाडौँ । हाल देशमा राजनीतिक दलहरूबीच पुनः जोडिने र विभाजन हुने क्रम तीव्र भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पनि एकीकरणको चर्चा तीव्र बनेको छ ।
राप्रपा नेपालले हालै राप्रपाका शीर्ष नेताहरूसँग पार्टी एकताको सम्भावनाबारे औपचारिक बहस सुरु गरेको पुष्टि भएको छ । समान विचारधारा र नीतिगत दृष्टिकोण भएका राजनीतिक शक्तिहरूसँग सहकार्य र एकता सम्भावनाको खोजी गर्न राप्रपा नेपालले वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । उक्त समितिले हालै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरी औपचारिक रूपमा पार्टी एकताको प्रस्ताव पेस गरेको स्रोतहरूले जनाएका छन् ।
वार्ता समितिका सदस्य तथा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार भेटवार्ता र छलफल अत्यन्तै सकारात्मक रूपमा अघि बढेको छ । उनका भनाइमा, मुलुकको पछिल्लो राजनीतिक ध्रुवीकरण र अस्थिरताका बीच समान विचार र नीति भएका दलहरूले एकता र सहकार्यका माध्यमबाट स्थिरता ल्याउनुपर्ने विषयमा विस्तृत छलफल भएको थियो ।
“अध्यक्ष लिङ्देनले हाम्रो प्रस्तावलाई सकारात्मक रूपमा लिनुभएको छ । उहाँले पार्टीभित्र यस विषयमा गहन छलफल गरेर चाँडै नै पुनः वार्तामा बस्ने आश्वासन दिनुभएको छ,” बर्तौलाले बताए ।
लिङ्देनसँगको उक्त भेटमा राप्रपा नेपालको तर्फबाट वार्ता समितिका संयोजक राजीव पराजुली, सदस्य तेज कुरुङ्गवाङ र राजाराम बर्तौला सहभागी थिए ।
स्रोतका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा दुवै एकताको दिशामा सकारात्मक देखिएका छन् । तर, दुबै पक्षका केही नेताहरू अझै व्यक्तिगत मनमुटाव र फुटपरस्त सोचबाट मुक्त हुन नसकेको बताइन्छ । राजनीतिक विश्लेषकहरूका अनुसार यदि लिङ्देन र थापा एकै मञ्चमा आउँछन् भने, राष्ट्रिय राजनीतिमा एक सशक्त वैकल्पिक शक्ति निर्माण हुने सम्भावना उच्च छ ।