काठमाडौँ । चाडपर्वको मौसम सकिएसँगै आन्दोलनको तयारीमा रहेका केही अतिवादी समूहहरूको गतिविधिमाथि आम नागरिक सर्तक रहनुपर्ने आवश्यकता देखिएको छ।
धार्मिक र राजनीतिक नाममा सक्रिय केही अतिवादीहरूले हालको परिवर्तन उल्ट्याउने र देशमा पुनः अस्थिरता कायम राख्ने षड्यन्त्र गरिरहेको बताइन्छ। यस्तो अवस्थामा सचेत युवावर्गले विशेष सावधानी अपनाउनुपर्ने विश्लेषकहरूको सुझाव छ।
पटक–पटकका राजनीतिक परिवर्तनले देशले ठूलो नोक्सानी व्यहोरेको सन्दर्भमा विश्लेषकहरू भन्छन्— “अब उपलब्ध उपलब्धिहरूको रक्षा गर्दै अतिवाद रोक्ने जिम्मेवारी युवाको काँधमा आएको छ।”
हालै सम्पन्न ‘जेन–जी आन्दोलन’ले नागरिकका मुख्य अपेक्षा पूरा गरिसकेको र अब देशले निर्वाचन, भ्रष्टाचार अन्त्य तथा विकासमा केन्द्रित हुनुपर्ने आवश्यकता बढेको पनि विश्लेषकहरूको धारणा छ।
पछिल्लो समयमा भारततर्फका केही धार्मिक समूहहरू नेपालमा सक्रिय हुन थालेका खबरहरू सार्वजनिक भइरहेका छन्। सरकारलाई ती गतिविधि नियन्त्रण गर्न सुझाव दिइँदैछ। त्यस्तै, स्थापित केही राजनीतिक दलहरू समेत आगामी निर्वाचन भाँड्ने तयारीमा रहेको संकेत देखिएकोले राज्यले चेतावनीस्वरूप कडा कदम चाल्नुपर्नेमा सर्वसाधारणको जोड रहेको छ।
वर्तमान नागरिक सरकारले सुशासनको प्रारम्भ गर्दै मितव्ययितामार्फत विकास सम्भव छ भन्ने सन्देश दिएको छ। तर, नेपालको प्रगतिमा बाधक बन्ने केही अतिवादी तत्व सक्रिय हुन थालेकाले यस्ता समूहका प्रचार–प्रसारमा रोक लगाउन सञ्चारमाध्यमले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने आवाज उठ्न थालेको छ।
अब नेपालले कुनै पनि प्रकारको आन्दोलन, विध्वंस, विनाश वा जनधनको क्षति व्यहोर्ने स्थिति बाँकी नरहेको भन्दै स्थायी शान्ति र विकास–निर्माणमा सम्पूर्ण नेपालीले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।