काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ।
आज नै सभापति शेरबहादुर देउवाले सम्भवत: नेतृत्व छोड्ने सम्भावना रहेको छ। जेन–जी आन्दोलनमा सबैभन्दा ठूलो क्षति व्यहोरेका देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीको लहलहैमा लागेर आफू र कांग्रेसलाई पीडा पुर्याएको आरोप लागेको छ ।
अहिलेसम्म पनि गठबन्धनको नाममा एमाले अध्यक्ष ओली कांग्रेसमाथि राजनीतिक खेल खेलिरहेको र राज्यका शक्तिकेन्द्रमा गठबन्धनको पहुँच विस्तार हुँदा जेन–जी पुस्ताले कांग्रेसलाई अझै ‘रेडलिष्ट’मा राखेको विषयमा अधिकांश नेताहरूले चिन्ता व्यक्त गरेका छन्।
एमालेको प्रभावमा पर्न नहुने र जेन–जीको वर्तमान सरकारलाई सहयोग गरेर जानु नै कांग्रेस र देश दुवैका लागि फाइदा हुने भन्दै अधिकांश नेताहरूले जोड दिएका छन्। कांग्रेस निशर्त आमनिर्वाचनमा जानुपर्ने र एमालेको भुलभुलैयामा परेर संसद् पुनस्थापनामा जानै नहुनेमा युवा नेताहरुले अभियान सुरु गरेका छन् ।
यही कारणले, देउवाले नेतृत्वबाट अलग भएर एमालेसँगका सम्पूर्ण गठबन्धन तोडिएको घोषणा गरे जेन–जी पुस्ता सन्तुष्ट हुने र कांग्रेसको अस्तित्व बच्न सक्ने कांग्रेसका धेरै बुद्धिजीवीहरूको तर्क रहेको छ।
नेपाली कांग्रेसले बिहीबार र शुक्रबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक, र शनिबार तथा आइतबार कार्यसम्पादन समिति बैठक सम्पन्न गरे पनि—कुन महाधिवेशन गर्ने र कहिले गर्ने भन्ने विषयमा निष्कर्ष निकाल्न सकेको छैन।
देउवा नेतृत्वको वर्तमान कार्यसमितिको म्याद आगामी मंसिरमा सकिने भएकाले त्यसअघि नै महाधिवेशन गर्नुपर्ने बाध्यता छ। तर पार्टीभित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन भन्ने विषयमा मतभेद छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर अभियान सुरु गरेका छन्। पार्टी विधान अनुसार, १४औँ महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिले कारण देखाएर विशेष महाधिवेशनको माग गरेमा तीन महिनाभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था छ।
तर, त्यसरी बोलाइएको विशेष महाधिवेशनबाट चुनेका पदाधिकारीहरूको कार्यकाल कति हुने, सभापतिमात्रै चुन्ने कि सिङ्गो कार्यसमिति नै पुन: गठन गर्ने भन्ने विषय स्पष्ट छैन।
पार्टीको संस्थापन पक्ष र डा. शेखर कोइराला नेतृत्वको इतर समूह भने नियमित महाधिवेशनको पक्षमा छन्। उनीहरूले एमालेसँग गठबन्धन गरेर नेपाली कांग्रेसले इतिहासकै सबैभन्दा ठूलो राजनीतिक भूल गरेको निष्कर्ष निकालेका छन्।
तर दुवै पक्षबीच सहमति नजुटेकाले मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनसम्बन्धी एजेन्डा प्रस्तुत गर्ने तयारी भए पनि, कुन महाधिवेशन गर्ने र कहिले गर्ने भन्नेमा अझै सहमति जुट्न सकेको छैन। नेताहरूका भनाइमा, अहिलेको मुख्य विवाद "महाधिवेशनको स्वरूप" भन्दा पनि "महाधिवेशनको मिति" निर्धारणमा केन्द्रित छ।
संस्थापन पक्षका नेताहरूले विधि र प्रक्रियामा जोड दिइरहेका छन् भने युवा नेताहरू भने एमालेसँगको गठबन्धनले पार्टीलाई ठूलो नोक्सान पुर्याएको सन्देश कार्यकर्तामाझ पुर्याउनुपर्ने धारणा राख्दै आन्तरिक छलफलमा छन्।
आजको बैठकमा सभापति देउवाले ओलीसँगको गठबन्धनमा गरिएको गल्ती स्विकार गर्दै नेतृत्वबाट अलग हुने सम्भावना उच्च रहेको धेरै नेताहरूको विश्वास छ। अधिकांश नेताहरूले यही सरकारलाई सशर्त सहयोग गरेर आगामी चुनावमा निर्धक्क जाने तयारी गर्नुपर्ने र एमाले अध्यक्ष ओलीको संगतबाट पूर्ण रूपमा अलग हुनुपर्नेमा जोड दिइरहेका छन्।