काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ बाढीपहिरो प्रभावित इलाम पुगेका छन् । इलाम पुगेर उनले शनिबार बाढीपहिरोले क्षति पुर्याएको संरचना अनुगमन गर्नुका सथै बाढीपहिरो प्रभावितसँग पनि भेट गरेका छन् ।
विभिन्न मन्त्रालयका सचिव, विभागीय प्रमुखसहितका कर्मचारी लिएर इलाम पुगेका हुन् । पहिरोले अवरुद्ध बनाएको मेची राजमार्गअन्तर्गतको राजदुवाली सडकखण्डको करिब दुई किलोमिटर पैदल हिँडेर पार गर्दै उनी सदरमुकाम पुगेका थिए । घिसिङले पहिरोले क्षति पु¥याएको राजमार्ग अवलोकन गर्नुका साथै प्रभावितहरूको गुनासोसमेत सुनेका थिए । उनी जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा समेत सहभागी भए ।
मन्त्रीसँग भेटको क्रममा बाढी प्रभावितहरूले घर पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए । उनीहरूले अब राज्यसँग प्रभावितको आशा रहेको बताएका थिए । मन्त्री घिसिङले सरकारले इलामलाई प्राथमिकतामा राखेर पुनर्निर्माणको काम थालिने बताए । उनले इलामलाई विपत् संकटग्रस्त जिल्ला घोषणा गरिएकाले पुनर्निर्माण गरिने बताए । इलाममा ठुलो प्राकृतिक विपत्ति आएको भन्दै मन्त्री घिसिङले सरकारले तत्काल राहत र उद्धारसमेत गरेको बताए । राहत र पुनस्र्थापनाको काम तीनवटै सरकारको समन्वयमा तत्काल अघि बढ्ने उनको भनाइ थियो ।
घिसिङले मेची राजमार्गअन्तर्गत इलाम सदरमुकामनजिकै राजदुवालीको अवरोध हटाएर तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिए । मन्त्री घिसिङले सडकलाई दीर्घकालीन स्थायित्व दिन अध्ययन गरेर विकल्प खोजिने बताए ।
इलाममा गत साता गएको बाढीपहिरोमा परी ३९ जनाले ज्यान गुमाएका थिए । एकजना अझै बेपत्ता छन् । सरकारले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको इलाममा हालसम्म १५१ घर बाढीपहिरोले पूर्ण रूपमा बगाएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । ३२७ घरमा आंशिक क्षति पुगेको छ । ‘हामीलाई विवरण संकलनमा निकै कठिनाइ भएको छ । सडक क्षतविक्षत भएका कारण स्थानीय तहले पनि विवरण दिन सक्नुभएको छैन,’ उनले भनिन्, ‘यो प्रहरी र जनप्रतिनिधि पुगेको ठाउँबाट आएको विवरण हो ।’ उनले जिल्लाभर पक्की, बेलिब्रिज र झोलुंगे पुल गरेर ३० वटा पुलमा क्षति पुगेको जानकारी दिइन् । सूर्योदय, माई, देउमाई माङ्सेबुङ, फाकफोकथुम र माइजोगमाई सदरमुकामसँगको सडक सञ्जालबाहिरै रहेको उनको भनाइ छ ।
के हुन्छ विपत् संकटग्रस्त क्षेत्र घोषणापछि ?
नयाँ पत्रिकाका अनुसार, सरकारले केही दिनअघि इलामलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । पुनर्निर्माण र इलामको जनजीवनलाई पुरानै अवस्थामा फर्काउन सरकारले इलामलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले इलामलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेपछि राज्यका सबै निकायको ध्यान इलाममा हुने बताए । उनले इलामको जनजीवनलाई पुरानै अवस्थामा ल्याउन विपत् संकटग्रस्त क्षेत्र घोषणा गरिएको बताए । ‘विपत् संकटग्रस्त क्षेत्र घोषणा भएपछि राज्यका निकायको ध्यान केन्द्रित हुनेछ । सडक खानेपानीलगायतको संरचना बिग्रिएको छ । यसको मर्मत र पुनर्निमाणका लागि सरकारको ध्यानाकर्षण हुन्छ । यहाँका मानिस आपतमा छन् भन्ने कुरा संकटग्रस्त क्षेत्र घोषणाले बुझिन्छ,’ उनले भने, ‘विपत् संकटग्रस्त क्षेत्र घोषणापछि युएन एजेन्सी, गैरसरकारी संस्था पनि परिचालित भएर छिटोभन्दा छिटो पहिलाको अवस्थामा जनजीवन लैजान प्रयास हुन्छ ।’ उनले इलामको बाढी र पहिरोबाट घर गुमाएका प्रभावितलाई तत्कालका लागि सरकारले ५० हजार रुपैयाँ उपलब्ध गराउने बताए । यसका लागि स्थानीय तहले लाभग्राही छुट्याएर पठाउनुपर्ने उनको भनाइ छ ।
मेची राजमार्गअन्तर्गत इलाम सदरमुकाम जोड्ने इलाम नगरपालिका–१० को राजदुवाली खण्डको पहिरो हटाएर आइतबारदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ । करिब सात सय मिटरको विभिन्न ठाउँमा रहेको पहिरो पन्छाउने र सडक मर्मतको काम भइरहेकाले आइतबारदेखि सञ्चालन गर्ने प्रयासमा रहेको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । राजदुवालीको चार ठाउँमा काम गरेर पहिरो पन्छाउने काम भइरहेको उनको भनाइ छ । यो सडक पहिरोका कारण कतै भासिएको छ भने कतै अवरुद्ध भएको छ । ‘हामी सडक खोल्ने प्रयासमा छौँ । रातभर काम गरिरहेका छौँ । शनिबार पनि रातभर काम गरेर आइतबारबाट सडक सञ्चालन गर्ने तयारी छ,’ उनले भने, ‘मुख्य समस्या पहिचान गरेर काम गरिरहेका छौँ । तर, अहिले बनायो फेरि बिग्रने भइरहेको छ । एक ठाउँमा काम राम्रो हुन्छ अर्को ठाउँमा पानी निस्कन्छ ।’