काठमाडौँ । भदौ २३ गतेको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको हत्या भएको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहितका उच्च पदस्थ व्यक्तिहरूविरुद्ध जेन–जी प्रतिनिधिहरूले पक्राउ अभियान तीव्र पारेका छन्।
सामाजिक सञ्जालमा निरन्तर दबाब बढ्दै गएपछि अहिले सरकार र सुरक्षासंस्था दुवै पक्षमा चर्को दबाब महसुस भइरहेको छ।
सोमबार साँझ जेन–जीका प्रतिनिधित्व कमाण्डर सुदन गुरुङसहितको टोली काठमाडौँ जिल्ला प्रहरी परिसरमा औपचारिक जाहेरी लिएर पुगेको थियो। तर, प्रहरी प्रशासनले जाहेरी दर्ता गर्न अस्वीकार गरेको जेन–जी समूहको आरोप छ।
यता, आन्दोलनको चर्को दवाबबीच प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राति नै गृहमन्त्री ओमप्रकाश अर्याल र चारै सुरक्षा निकायका प्रमुखहरूसँग बालुवाटारमा आकस्मिक बैठक गरेकी थिइन्। छलफलमा प्रहरीले जाहेरी दर्ताका लागि केन्द्रीय सुरक्षा समितिबाट लिखित अनुमति आवश्यक पर्ने औपचारिक तर्क प्रस्तुत गरेको स्रोतले बतायो।
सुरक्षा निकायको ब्रीफिङ उद्धृत गर्दै स्रोतले भन्यो, “ओलीविरुद्ध जाहेरी लिएपछि अन्य ठूला नेताहरूमाथि पनि यस्तै कानुनी कारबाहीको माग उठ्ने र नजिर बस्ने सम्भावना बढी छ।”
गृहमन्त्री अर्याल भने तत्काल कदम चाल्ने पक्षमा छन्। गृह मन्त्रालय स्रोतका अनुसार उनले प्रहरी नेतृत्वसँग मंगलबारमै ओली र लेखकलाई पक्राउ गर्न सकिने सम्भावना बारे सोधेका थिए। “मन्त्रीले प्रहरीलाई ‘अहिले किन ढिलाइ भइरहेको हो?’ भन्ने प्रश्न गर्नुभएको थियो, तर प्रहरीको प्रतिक्रिया अस्पष्ट रह्यो,” स्रोतले भन्यो।
ओलीसँगै पक्राउ पर्नेमा वर्तमान परिस्थितिलाई भड्काएको प्रमाण जुटाएर महेश बस्नेत, सूर्य थापा समेत रहेका स्रोतले जनायो ।
यसबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि प्रधानमन्त्री कार्कीसँग भेट गरी ‘ओली लगायतका व्यक्तिलाई पक्राउ गर्न ढिलाई गर्न नहुने' अडान व्यक्त गरेको स्रोतको दाबी छ। तर, चारवटै प्रमुख सुरक्षा निकायहरूले देशको संवेदनशील परिस्थिति र शान्ति–सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै संयम अपनाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
गृह मन्त्रालयका अनुसार, पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले बुझाउने प्रतिवेदन कुर्ने कि तत्काल ‘एक्सन’ लिने भन्ने विषयमा अहिलेसम्म अन्तिम निर्णय भएको छैन। तर, स्रोतका अनुसार मन्त्री अर्यालले “सकेसम्म छिट्टै” पक्राउ गर्ने तयारी जारी राखेका छन्।
मन्त्रालयभित्रको उच्च स्रोतका शब्दमा, “गृहमन्त्री आफैं सक्रिय छन्। उहाँले मंगलबारभित्रै पक्राउ गर्नुपर्ने बताउनुभएको थियो, तर प्रक्रिया लामो भएकाले त्यो सम्भव भएन।”
त्यसैबीच, आज रातिसम्म पनि पूर्व प्रधानमन्त्री ओलीलाई पक्राउ गर्ने सम्बन्धमा आन्तरिक तयारी रहेको स्रोतले उल्लेख गरेको छ ।
गृहमन्त्री अर्याल पनि कानुनकै आधारमा ओली लगायतलाई पक्राउ गर्नुपर्ने हतारमा रहेका छन् । परिस्थितिले अब प्रहरी प्रशासनको निर्णय क्षमतामाथि जनचासो झन् बढाएको छ।