काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले हालै नेपालमा आएको बाढी र पहिरोबाट भएको जनधनको व्यापक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उनले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै यो कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा रहेको बताएका छन्।
प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल 'एक्स' (पहिले ट्विटर) मा लेखेका छन्, "नेपालमा बाढी र पहिरोबाट भएको जनधनको व्यापक क्षतिबाट म ज्यादै दुःखी छु। म शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। यो कठिन क्षणमा पाकिस्तान सरकार र जनता नेपाल सरकार र नेपाली जनताका साथमा छन्।"
नेपाल र पाकिस्तानबीच लामो समयदेखि घनिष्ठ र सुमधुर सम्बन्ध रहँदै आएको छ, र पाकिस्तानले विभिन्न समयमा नेपाललाई सहयोग गर्दै असल छिमेकीको भूमिका निभाउँदै आएको छ। विशेषगरी प्राकृतिक विपत्ति र स्वास्थ्य संकटको समयमा पाकिस्तानले उदारता देखाएको छ।
कोभिड-१९ महामारीका बेला सहयोग: कोरोना महामारीको समयमा पाकिस्तानले नेपाललाई ठूलो मात्रामा आर्थिक र स्वास्थ्य सामग्री सहयोग गरेको थियो। उसले कोभिड-१९ आपतकालीन सहायता कार्यक्रमअन्तर्गत ४ करोड ३० लाख रुपैयाँ भन्दा बढी वित्तीय सहयोग उपलब्ध गराएको थियो। साथै, ३० वटा भेन्टिलेटर र अन्य आवश्यक स्वास्थ्य उपकरणहरू पनि सहयोग गरेको थियो।
अन्य क्षेत्रमा साझेदारी: स्वास्थ्य क्षेत्रबाहेक, पाकिस्तानले नेपालका विद्यार्थीहरूका लागि प्राविधिक छात्रवृत्ति प्रदान गर्दै आएको छ। चिकित्सा, दन्तचिकित्सा, फार्मेसी र इन्जिनियरिङलगायतका विभिन्न विषयमा वार्षिक रूपमा पाकिस्तानी प्राविधिक सहायता कार्यक्रम (Pakistan Technical Assistance Program - PTAP) अन्तर्गत नेपाली विद्यार्थीहरू पाकिस्तानमा अध्ययन गर्न पाउँछन्। हजारौँ नेपाली डाक्टर, इन्जिनियर, पत्रकार र पाइलटहरू पाकिस्तानबाट दीक्षित भई नेपालको विकासमा योगदान दिइरहेका छन्।
आपसी सहयोगको परम्परा: नेपालले पनि सन् २०१० मा पाकिस्तानमा आएको बाढीको प्रकोपमा ऐक्यबद्धता जनाउँदै १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो, जसले दुई देशबीचको आपसी मित्रता र सहयोगको परम्परालाई झल्काउँछ।
प्रधानमन्त्री सरिफको पछिल्लो समवेदना र सहयोगको तत्परताले नेपाल र पाकिस्तानबीचको ऐक्यबद्धतालाई पुन: पुष्टि गरेको छ। पाकिस्तानले सन् २०२२ मा विनाशकारी बाढीको सामना गरेको अनुभवलाई स्मरण गर्दै नेपाललाई आवश्यक सहयोग गरेको थियो ।