काठमाडौँ । गत वर्षभन्दा बढी वर्षा भए पनि यस वर्ष भने बाढी–पहिरोका कारण ठुलो मानवीय क्षति हुन पाएन। सरकारले बेलैमा तयारी, जिम्मेवारी र संवेदनशीलता देखाएकोले जनधनको क्षति न्यून रहन सफल भएको हो।
शुक्रबार र शनिबार देशभर भारी वर्षा भएको थियो। मौसमविद्हरूका अनुसार यो झरी आज आइतबार पनि जारी रहने भए पनि वर्षाको तीव्रता भने केही कम हुने अनुमान गरिएको छ।
दशैंको बिदा सकिएर नागरिकहरू सहर फर्किने बेला सवारी चाप बढ्ने र दुर्घटनाको जोखिम उच्च हुने अनुमानसहित सरकारले विशेष सतर्कता अपनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकामा सवारी भित्रिने र बाहिरिने आवागमन तीन दिनका लागि रोक लगाएको छ। विभिन्न राजमार्गमा अलपत्र यात्रुहरूलाई सुरक्षित स्थानमा राखी खाद्यान्न वितरण गर्न गृह मन्त्रालयले सबै स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले बाढी–पहिरोबाट जनधनको सुरक्षा सरकारको पहिलो दायित्व भएको बताउँदै नागरिकलाई शान्त, संयमित र सतर्क रहन आग्रह गरेकी छिन्। उनका अनुसार, “राज्यका सबै निकाय उद्धार, राहत र व्यवस्थापनमा खटिएका छन्। नागरिकको ज्यान र सम्पत्ति सुरक्षित राख्न कुनै कसर बाँकी राखिँदैन।”
काठमाडौं महानगरसहित स्थानीय सरकार, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी फिल्डमा खटिएका छन्। बागमती करिडोरका जोखिमयुक्त बस्तीहरूलाई विद्यालयहरूमा सारिएको छ। सरकारको तदारुकताले ठूलो मानवीय क्षति हुन नदिन मद्दत गरेको छ।
मानवीय क्षति हुन नदिन सरकारले राजमार्गहरू बन्द गर्नुका साथै सार्वजनिक विदा घोषणा गरेको छ। सार्वजनिक विदा सोमबारसम्म कायम रहनेछ। राजमार्ग भने अवस्था हेरेर चरणबद्ध रूपमा खुलाउने तयारीमा सरकार रहेको बताइएको छ।
दशैं मनाउन घर गएका नागरिकहरू कर्मथलो फर्कने क्रममा रहेका यात्रुहरू बाटोमै रोकिएका थिए। मौसम आइतबार र सोमबार सामान्य भएपछि अधिकांश यात्रुहरू आफ्ना गन्तव्यमा पुग्ने अनुमान गरिएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्वयम्सेवकहरूको ठूलो टोली अहिले उद्धार र राहत कार्यमा जुटिरहेको छ।
सरकारले सम्भावित भारी वर्षाको जोखिमलाई ध्यानमा राख्दै एक साता अघिदेखि नै पूर्वसूचना जारी गरेको थियो। शुक्रबार रातिदेखि विभिन्न युनिटहरू परिचालन गरिएको थियो। जल तथा मौसम पूर्वानुमान महाशाखा, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, ऊर्जा र भौतिक पूर्वाधार मन्त्रालयबीचको प्रभावकारी समन्वयका कारण हालसम्म ठूलो मानवीय क्षति हुन सकेको छैन।
केही दिनदेखि जारी मौसम बुलेटिन, मौसमविद्हरूको निरन्तर चेतावनी र विपद् व्यवस्थापनमा सरकारले देखाएको तत्परताले सर्वसाधारणलाई सूचना पहुँचमा राख्न सहज बनाएको छ। पाँचथर बाहेक अन्य जिल्लामा ठूला मानवीय क्षति नभएको गृह मन्त्रालयले जनाएको छ।
यस वर्ष गत वर्षभन्दा बढी वर्षा भए पनि सरकारले जिम्मेवार भूमिका निर्वाह गर्दा ठूलो क्षति हुनबाट बच्न सफल भएको हो। उपत्यका प्रवेश गर्ने अधिकांश राजमार्गहरू बाढीका कारण अवरुद्ध भएका छन्। कोशी, पृथ्वी, बीपी, अरनिको, सिद्धिचरण, कुलेखानी, पासाङ ल्हामु लगायतका प्रमुख राजमार्ग अझै पनि पूर्ण रूपमा बन्द छन्।
राजमार्गमा अलपत्र परेका यात्रु र सवारी साधनलाई सकेसम्म छिटो सुरक्षित स्थानमा पुर्याउने व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ। बाढीपीडित र विपदमा परेका नागरिकसँग सिंगो सरकार खटिएको महसुस नागरिकहरूले गर्न थालेका छन्।
विश्लेषकहरूले पनि सरकारको यस सक्रियताको प्रशंसा गरेका छन्। गत वर्षको ओली सरकारले असंवेदनशीलता देखाएकोले ठूलो मानवीय क्षति भएको भन्दै अहिले सामाजिक सञ्जालमा तुलना सुरु भएको छ। त्यसबेला अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले स्वदेश फर्केपछि दिएका अमानवीय अभिव्यक्तिहरू अहिले फेरि चर्चामा आएका छन्।
यस वर्ष भने प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सरकार अत्यन्त जिम्मेवार र संवेदनशील देखिएको छ। सामाजिक सञ्जालमा नागरिकहरूले ‘अहिले सरकार भएको महसुस भएको’ भनेर प्रशंसा गरेका छन्।
गत वर्ष यही समयमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । त्यतिबेला यो वर्षको भन्दा कम वर्षा भएपनि ३ सय बढी नागरिकको ज्यान गएको थियो । उक्त घटनापछि ओलीको अभिव्यक्ति र सरकारको गैरजिम्मेवारीप्रति नागरिकहरु निकै आक्रोषित देखिन्थे ।
राजनीतिक विश्लेषक मुमाराम खनालले यसपटक सरकारका हरेक निकायले देखाएको तत्परताको प्रशंसा गर्दै जनताको जीवन र सम्पत्ति सुरक्षित रहनु सरकारको उपलब्धि भएको टिप्पणी गरेका छन्। पत्रकार ज्ञानेन्द्र खड्काले पनि सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै, “वर्तमान नागरिक सरकार कति जिम्मेवार छ र गत वर्षको ओली सरकार कति गैरजिम्मेवार थियो” भन्ने उदाहरणसहित तुलना गरेका छन्। उनको उक्त स्टाटस क्यानडामा रहेका पत्रकारिता प्राध्यापक भानुभक्त आचार्यसहित दर्जनौँले शेयर गरेका छन्।
वर्तमान सुशीला कार्की सरकारले नागरिक सुरक्षाप्रति देखाएको जिम्मेवारीको समाजका सबै तह र वर्गबाट उच्च प्रशंसा गरिएको छ।
स्वतन्त्र पत्रकार, कलाकार, बुद्धिजीवीसहित समाजका गन्यमान्य व्यक्तिहरूले यति ठूलो वर्षा हुँदासमेत मानवीय क्षति न्यून राख्न सरकारले गरेको मिहिनेतको प्रशंसा गरेका छन्। प्रधानमन्त्री कार्कीले सरकारले नागरिकको सुरक्षाका लागि आवश्यक सबै प्रयास गरिरहेको बताएकी छिन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले “सकेसम्म शून्य क्षतिमा उद्धार कार्य सम्पन्न गर्ने सरकारको लक्ष्य छ” भनेका छन्। भौतिक तथा पूर्वाधार मन्त्री कुलमान घिसिङ दिनभर फिल्डमै खटिएका थिए ।
शिक्षामन्त्री महावीर पुनले उपत्यका भित्रका नदी–खोला किनारका बस्तीहरूमा पानी पसेकोले प्रभावित परिवारलाई विद्यालय र कलेजहरूमा तत्काल आश्रय प्रदान गरिएको जानकारी दिएका छन्।
यसैगरी, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलहरूले आफ्ना कार्यकर्तालाई उद्धार र सहयोग कार्यमा खटिन आह्वान गरेका छन्। यी दलहरूले खुलेरै उद्धारमा हातेमालो गर्न अपिल जारी गरेका छन्। एमालेले भने नेतृत्व तहबाट औपचारिक प्रतिक्रिया नदिएर केवल प्रचार विभागमार्फत वक्तव्य दिएको छ।
काठमाडौं महानगरका मेयर बालेन शाहले राजधानीका बिचल्लीमा परेका परिवारलाई विभिन्न विद्यालयमा राखी तत्काल उद्धारको व्यवस्था गरिएको बताएका छन्। उद्धारमा हाल विभिन्न सामाजिक संघ–संस्था, अभियन्ता र स्वयंसेवी समूहहरू सक्रिय रूपमा खटिरहेका छन्।
मौसम विभागका अनुसार आइतबार साँझदेखि क्रमशः वर्षा घट्दै जाने र त्यसपछि मौसम सामान्य अवस्थामा फर्कने अनुमान गरिएको छ।