काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सरकारी खर्च जोगाउन मन्त्रालयकै कोठामा बस्ने निर्णय गरेका छन्।
सरकारले मन्त्रीलाई बाहिर आवास सुविधा दिने प्रचलन रहे पनि पुनले भने मन्त्रालयमै शयन कक्ष तयार गरी बस्ने अभ्यास सुरु गरेका हुन्।
मन्त्री पुनले अत्यावश्यक सामान बाहेक अरू खर्चमा रोक लगाएका छन्। कम खर्च गर्ने र सामान्य निर्वाह मात्र गर्ने उद्देश्यले सामान किनिएको एकजना कर्मचारीले बताए। मन्त्री पुन मन्त्रालयमै २४ घण्टा बस्दा सरकारको काममा अझ बढी समय उपयोग हुने मन्त्रालयका अधिकारीले बताए।
यस कदमले पाहुना सत्कारदेखि आवाससम्बन्धी सम्पूर्ण खर्च बचत हुने भएको छ। मन्त्रालयमै बस्दा मन्त्री निवासमा हुने भीडभाड र अतिरिक्त खर्च हट्ने भएकाले मासिक लाखौँ रुपैयाँ मात्र होइन, वार्षिक करोडौँ रुपैयाँसम्म बचत हुने एक सहसचिवले बताएका छन्।
विद्यार्थीसरह सामान्य व्यवस्थापनमा बसिरहेका पुनको यो निर्णयले २४ घण्टा मन्त्रालयमा सक्रिय रहँदै सरकारका लागि काम गर्ने नयाँ अभ्यास पनि थालेको अधिकारीहरूको भनाइ छ।
पूर्ववर्ती मन्त्रीहरूले बाहिर आवास सुविधा लिँदा गाडी, सत्कार र अन्य महंगा सामानमा ठूलो खर्च हुने गरेकोमा पुन भने साधारण जीवनशैली अपनाउँदै मन्त्रालयमै रहेर काम गर्न थालेका छन्।
यस्तै, मन्त्री पुनले केही दिनका लागि अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले मन्त्रालयमा सृजनशील टिम बनाउन व्यस्त रहेको भन्दै आवश्यकताबाहेक सम्पर्क नगर्न अनुरोध गरेका छन्।
सोमबार मन्त्री नियुक्त भएका उनी मंगलबारदेखि कार्यकक्षमै शयन कक्ष बनाएर काममा जुटेका छन्।