काठमाडौँ । नेपालले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ । सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा अनुसार असाधारण परिस्थितिलाई सम्बोधन गर्न, राष्ट्रिय एकता प्रवर्द्धन गर्न र जेन–जी आन्दोलनले उठाएका माग सम्बोधन गर्ने उद्देश्यसहित कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने म्यान्डेटसहित अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
जेन–जी आन्दोलनको चर्को दबाब र भदौ २३ गते खड्ग प्रसाद ओली सरकारको गोली लागेर १९ जनाको मृत्यु भएपछि २४ गते देशभर उग्र प्रदर्शन, आगजनी र तोडफोड भयो । त्यसलगत्तै ओलीले राजीनामा दिएपछि दलहरूबीचको सहमतिको आधारमा संसद् विघटन गरी कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको हो । यससँगै नेपालमा पहिलो महिला प्रधानन्यायाधीश बनेकी कार्की पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छिन् ।
वि. सं. २००९ जेठ २५ गते विराटनगरमा जन्मिएकी कार्कीले बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेकी हुन् । उनले प्राध्यापनदेखि वकालत, वरिष्ठ अधिवक्ता हुँदै सर्वोच्च अदालतको न्यायाधीशसम्मको यात्रा तय गरेकी थिइन् । २०७३ सालमा प्रधानन्यायाधीश बनेकी उनले आफ्नो ११ महिनाको कार्यकालमा लोकमानसिंह कार्कीमाथिको फैसला र आईजीपी नियुक्ति विवादलगायत कारण महाअभियोगसमेत खेपिन् ।
प्रधानन्यायाधीश हुँदा उनले भ्रष्टाचार मुद्दामा कडाइ गरेको भन्दै प्रशंसा पाइन् । अवकाशपछि पनि उनले कुशासन र भ्रष्टाचारविरुद्ध मुखर भएर आवाज उठाइरहेकी थिइन् ।
अब भने असामान्य राजनीतिक परिस्थितिबाट पहिलो महिला प्रधानमन्त्रीका रूपमा उनी मुलुकको बागडोर सम्हाल्न आएकी छिन् । जेन–जी आन्दोलनले तोडेको पुराना दलहरूको सिण्डिकेट र ओली नेतृत्वको सरकार पतनपछि मुलुक नयाँ राजनीतिक यात्रामा उत्रिएको छ । कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले फागुन २१ गतेसम्म निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएको छ ।