काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई ‘टेस्टेड’ भइसकेको शक्ति भन्दै लोकतन्त्र र समृद्धिको नेतृत्व गर्न नसक्ने टिप्पणी गरेका छन् । गोदावरीमा जारी विधान महाधिवेशनमा पेस गरिएको राजनीतिक दस्तावेजमार्फत ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् ।
उनले कांग्रेसले सात सालपछि क्रान्तिकारी आन्दोलनको रक्षा गर्न नसकेको, पटक–पटक दुई तिहाइ बहुमत पाउँदा पनि उपलब्धि जोगाउन असफल भएको र नवउदारवादी नीतिले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन नसकेको आरोप लगाए ।
दस्तावेजमा ओलीले माओवादी केन्द्रलाई वैचारिक–राजनीतिक नेतृत्व गर्ने प्रतिस्पर्धाबाट बाहिरिइसकेको पार्टीका रूपमा चित्रण गरेका छन् । सशस्त्र युद्ध, सेना समायोजन, जातीय राज्य लगायत माओवादीका प्रयोगहरू असफल भएको उल्लेख गर्दै उनले अस्थिरता, अवसरवाद र विभाजनकारी सोचकै कारण माओवादी निरन्तर क्षयीकरण भइरहेको टिप्पणी गरेका छन् ।
यस्तै, मधेस केन्द्रित दल, राजावादी र सामन्ती सोच बोकेका शक्तिहरूले मुलुकको नेतृत्व गर्न नसक्ने उल्लेख गर्दै ओलीले पछिल्लो समय राजावादी नाममा संविधान र कानुनको अवज्ञा बढिरहेको भन्दै त्यसलाई अस्वीकार्य ठहर गरेका छन् ।
दस्तावेजमा ओलीले रास्वपाको नाम नलिई ‘पपुलिस्ट’ शक्तिहरूमाथि पनि कटाक्ष गरेका छन् । उनले समस्या मात्र उठाउने तर समाधान नदिने, न विचार, न विरासत, न वर्गीय आधार भएको पपुलिज्म उठेर चाँडै हराउने तरङ्गजस्तो भएको टिप्पणी गर्दै “दुई वर्षमै समाजले निष्कर्ष निकालेको छ– पपुलिज्म कुनै विकल्प होइन,” भनेका छन् ।
उनको भनाइमा, विचारका हिसाबले जनताको बहुदलीय जनवाद र शक्तिका हिसाबले नेकपा (एमाले) नै समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानको सारथी हो भन्नेमा अब द्विविधा छैन ।