काठमाडौँ । चीनको तियान्जिनमा सम्पन्न सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्तामा कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने प्रक्रिया अगाडि बढाउन सहमति भएको छ । प्रत्यक्ष उडान र पर्यटक भिसा सहजीकरणमार्फत जनता–जनताबीचको सम्बन्ध सुदृढ पार्ने समझदारीसमेत भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको सातबुँदे वक्तव्यमा उल्लेख गरिएको छ ।
तर, भारत–चीनबीचको यस समझदारीमा नेपाललाई पन्छाइएको छ । कैलाश मानसरोवर यात्राका लागि सबैभन्दा छोटो र सहज बाटो नेपाल हुँदै भए पनि यो विषयमा नेपालसँग कुनै सल्लाह–सम्पर्क भएको छैन । नेपालले लिपुलेक नाका नेपालको क्षेत्र हो भन्ने आधिकारिक अडान चीनसँग प्रष्ट रूपमा राख्न नसकेको आलोचना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सीसँगको भेटमा आपत्ति जनाए पनि दबाबमूलक रुपमा भारतलाई लिपुलेक हुँदै व्यापार प्रोत्साहन नगर्न आग्रह गर्न सकेनन् ।
भारतीय विदेश मन्त्रालयले आइतबार सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, ‘दुवै नेताहरूले कैलाश मानसरोवर यात्रा र पर्यटक भिसा पुनः सुरु गर्ने प्रक्रियालाई अगाडि बढाउँदै प्रत्यक्ष उडान र भिसा सहजीकरणमार्फत जनता–जनताबीचको सम्बन्धलाई सुदृढ पार्नुपर्ने आवश्यकतालाई जोड दिएका छन् ।’ तर चिनियाँ पक्षले भने यसबारे औपचारिक टिप्पणी गरेको छैन ।
भारत–चीनबीच भएको यो सहमति ३ भदौमा लिपुलेक नाका हुँदै व्यापार विस्तार गर्ने विषयमा भएको पुरानो सहमतिसँग जोडिएको विश्लेषण छ । यद्यपि, प्रधानमन्त्री ओलीले शनिबार सीसँगको भेटमा त्यसबारे असन्तुष्टि जनाएका थिए । त्यसको निरन्तरता हो कि होइन भन्नेबारे भारतीय विदेश मन्त्रालयको वक्तव्यमा केही प्रष्ट पारिएको छैन ।
कैलाश यात्रा भारततर्फबाट सिक्किमको नाथुला नाका र लिपुपास हुँदै तिब्बत प्रवेश गरेर गर्ने प्रचलन छ । नेपालतर्फ भने हुम्लाको हिल्सा, रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका भएर यात्रु जाने गरेका छन् । तर गत असारमा रसुवागढीको मितेरी पुल बगाएपछि त्यो मार्ग बन्द भएको छ । बर्सेनि हजारौँ भारतीय श्रद्धालु नेपाल हुँदै कैलाश जाने गरेका थिए । नयाँ समझदारीपछि भारत–चीनबीचको सीधा मार्ग सहज भएपछि धेरै भारतीयले नेपाल हुँदै जाने बाध्यता हट्ने देखिन्छ ।
सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भएको झडप र कोभिड महामारीपछि रोकिएको कैलाश यात्रा २०२५ मा मात्र पुनः सुरु भएको हो । त्यस्तै, महामारीका कारण रोकिएको भारत–चीन प्रत्यक्ष उडान पनि अब सुरु गर्ने तयारी भएको भारतीय प्रधानमन्त्री मोदीले बताएका छन् ।
शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच साइडलाइन भेटवार्ता भएको थियो । छोटो शिष्टाचार भेटमा दुवै नेताले पारस्परिक सम्बन्धलाई विशेष र गहिरो बताएका छन् ।
मोदीले भेटको तस्बिर सामाजिक सञ्जालमार्फत सेयर गर्दै नेपाल–भारत सम्बन्ध विशेष रहेको उल्लेख गरेका छन् । तर, लिपुलेक नाका हुँदै भारत–चीनबीचको व्यापार विस्तारको नयाँ सहमतिबारे ओलीले कुरा उठाएको वा नउठाएको विषय खुलाइएको छैन ।
–एजेन्सी