काठमाडौँ । इन्डिया र चीनबीच १९ अगस्ट (०८२ भाद्र ३) मा दिल्लीमा भएको लिपुलेक मार्गमार्फत सीमापार व्यापारको सहमतिप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले गम्भीर ध्यानाकर्षण गराएको छ ।
मोर्चाले एक विज्ञप्ति जारी गर्दै उक्त विवादको स्थायी समाधान भनेको लिम्पियाधुरामा नेपाल–इन्डिया–चीनबीच त्रिकोणात्मक बिन्दु कायम गरी शून्य नम्बर पिलर स्थापना गर्नु रहेको स्पष्ट पारेको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भने,‘टिङ्करमा नेपाल–चीनबीच १ नम्बर पिलर स्थापना हुनुको अर्थ लिपुलेकदेखि लिम्पियाधुरासम्मको करिब ६० किलोमिटर नेपाली भूमिको परित्याग इन्डियालाई गर्नु होइन, बरु इन्डियाले लिपुलेकमा कब्जा जमाउनु उसको खुला र स्पष्ट बदनियत हो ।’
उनका अनुसार, इन्डियाको प्रस्तावमा चीनले सीमापार व्यापारमा सहमति जनाउँदा चीनले नेपालको सार्वभौमसत्तामाथि प्रहार गरेको होइन, तर इन्डियाले भने नेपालको भू–अखण्डता कब्जा गर्ने रणनीति अपनाएको छ । उनले जोड दिए, ‘लिपुलेक प्रकरणमा इन्डिया जत्तिकै चीन पनि दोषी छ भन्ने आधारहीन आरोप लगाउनु चीनविरुद्धको अकूटनीतिक र अमर्यादित व्यवहार हो । यस किसिमको विवेकहीनता इन्डियालाई मात्र खुसी पार्ने काम हुन्छ ।’
अध्यक्ष नेपालले पटक–पटक कूटनीतिक नोट पठाउँदा पनि इन्डियाले त्यसलाई उपेक्षा गर्ने परम्परा बसिसकेको भन्दै अब नेपालले नयाँ रणनीति अवलम्बन गर्नुपर्नेमा जोड दिए । उनका शब्दमा, ‘इन्डियालाई जतिपटक कूटनीतिक नोट पठाए पनि कुनै असर पार्दैन । त्यसैले अब नेपालले अविलम्ब लिम्पियाधुरामा त्रिकोणीय बिन्दु कायम गरी पिलर नम्बर शून्य स्थापना गर्ने पहल गर्नुपर्छ । यही कदमले मात्र लिपुलेक समस्याको स्थायी समाधान दिन सक्छ ।’
मोर्चाले नेपाल सरकारलाई तत्कालीन शासकहरूले गरेका कमजोरी दोहोर्योएर सार्वभौमसत्ता र भू–अखण्डता माथि सम्झौता नगरी दृढ रणनीति अपनाउन आह्वान गरेको छ ।