काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन कल चार पटक अस्वीकार गरेको भन्ने समाचार गलत सावित भएको छ।
जर्मन पत्रिका फ्रान्कफर्टर अल्जेमाइन जेइटुङले प्रकाशित गरेको रिपोर्टलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्स, द हिन्दु र नेपालको अन्नपूर्ण पोस्टले अमेरिका–भारतबीच व्यापार तनाव बढेपछि मोदीले ट्रम्पसँग कुराकानी गर्न नमानेको दाबीसमेतसहित समाचार प्रकाशित गरेका थिए।
यी भारतीय र नेपाली मिडियाले मोदीको पक्षमा यस्ता झुटा समाचार किन प्रकाशित गरे भन्ने विषयमा अहिले धेरैले आश्चर्य प्रकट गरिरहेका छन्।
अमेरिकाले भारतमाथि २५ प्रतिशत कर लगाएको थियो। त्यसमाथि, रुसी कच्चा तेल खरिद गरेको भन्दै थप २५ प्रतिशत अतिरिक्त शुल्क लगाउँदै बुधबारदेखि लागू हुने गरी भारतमाथि ५० प्रतिशत कर लगाउने निर्णय गरेको छ।
ट्रम्पले मोदीलाई फोन गरेकोबारे भारत सरकार वा अमेरिकी पक्षले कुनै औपचारिक सन्देश जारी गरेका छैनन्। बरु, भारतीय मिडियामा सनसनीपूर्ण रूपमा आएका समाचारहरूलाई ह्वाइट हाउसले भ्रामक भनेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
उक्त जर्मन पत्रिकामा समेत कुनै भारतीय मूलका पत्रकारले झुटो खबर तयार पारेको र त्यसैलाई आधार बनाएर भारतीय मिडियाले मोदीलाई ‘उचाइमा देखाउन’ गलत समाचार सम्प्रेषण गरेको हुन सक्ने मिडिया विश्लेषकहरूको भनाइ छ।
हालै फ्रान्कफर्टर अल्जेमाइन जेइटुङ ले प्रकाशित गरेको रिपोर्टलाई आधार मानेर केही भारतीय मिडियाले ठूलो तामझामसहित चलाएका शीर्षक ‘ट्रम्पले मोदीलाई चार पटक फोन गरे तर मोदीले उठाएनन्’ खबरलाई अहिले अपुष्ट र अतिरञ्जित समाचारका रूपमा अन्तर्राष्ट्रिय क्षेत्रले लिएको छ।
ट्रम्पले मोदीलाई फोन गरेको र मोदीले नउठाएको भन्ने खबर बीबीसी, सिएनएन, फक्स, सिसिटिभी, अलजजिरा लगायत विश्वका कुनै पनि भरपर्दा अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित वा प्रसारित छैन। यो समाचार केवल भारतीय मिडिया र नेपालको अन्नपूर्ण पोस्टमा मात्र देखिएको छ।
भारतीय मिडियाका धेरै प्रतिष्ठित संस्थानहरूले यही रिपोर्टलाई आधार बनाएर ठूलो प्रचार गरे, तर ती मिडियाले भरपर्दा स्रोत खुलाउन नसकेका कारण प्रश्न उठेको छ। अझ विदेशमन्त्री एस. जयशंकरले संसदमा स्पष्ट रूपमा भनेका थिए कि अप्रिल २२ देखि जुन १७ बीच मोदी–ट्रम्पबीच कुनै पनि फोन वार्ता भएको थिएन।
उता, अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले समेत यसलाई भ्रामक रूपमा लिएको छ। यसैले, ट्रम्पले मोदीलाई फोन गरेको भन्ने समाचार पूर्ण रूपमा गलत सावित भएको छ।
–एजेन्सी