काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलामाथि हुने विभेद, हिंसा र कुरीतिहरूको अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्ने प्रेरणा दिने बताएकी छिन् ।
हरितालिका तीज पर्व २०८२ का अवसरमा सामाजिक सञ्जालमार्फत उनले जारी गरेको शुभकामना सन्देशमा तीजले सामाजिक–सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धलाई अझ सुमधुर बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेकी छिन् । भण्डारीले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँच र सशक्तीकरणलाई तीज पर्वले प्रोत्साहित गर्ने उल्लेख गरेकी छिन् ।
पूर्वराष्ट्रपतिले तीज पर्व हाम्रो जीवनशैली, संस्कृति र सहिष्णुताको उज्ज्वल परम्परा बोकेको बताउँदै विवाहिता महिलाले आफ्ना जीवनसाथी तथा परिवारको सुस्वास्थ्य, दीर्घायु र कल्याणको कामना गर्दै व्रत बस्ने धार्मिक आस्था यस पर्वसँग गहिरो रूपमा जोडिएको स्मरण गराइन् । उनले विवाहपश्चात् महिलाले जन्मघर छाडेर कर्मघरमा जीवन बिताउँदा उत्पन्न हुने भावनात्मक दूरीलाई कम गर्ने अवसरका रूपमा तीजलाई लिइने प्रचलन रहेको बताइन् ।
उनका अनुसार, तीज पर्वले चेली–माइतीबीचको आत्मीयता, परिवार तथा साथी–संगीबीचको न्यानो सम्बन्ध र समाजभित्रको भावनात्मक एकतालाई अझ प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ । लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि सामाजिक जागरण र सचेतना अभिवृद्धिको मञ्चका रूपमा पनि तीजलाई लिन सकिने उनले उल्लेख गरिन् ।
शुभकामना सन्देशमा पछिल्ला वर्षहरूमा तीज पर्व मनाउने क्रममा देखिएको भड्किलोपन र खर्चिलोपनप्रति चिन्ता व्यक्त गर्दै भण्डारीले यस पर्वसँग गाँसिएका धार्मिक–सांस्कृतिक मूल्यहरूको संरक्षण गर्न र देखिएका विकृति–विसङ्गति हटाउन सबैलाई आग्रह गरेकी छिन् ।
यता, एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारी पार्टीभित्र देखिएको नेतृत्वको हुकुमी पद्धति अन्त्य गर्न खुलेर राजनीतिमा फर्किएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
उनको पक्षमा हाल एमालेका ८० प्रतिशतभन्दा बढी नेता–कार्यकर्ता खुलेर लागेका छन् । अध्यक्ष केपी शर्मा ओली भने भण्डारीलाई रोक्न निरन्तर प्रयत्नशील देखिएका छन् ।
तर, पार्टीको बहुमत कार्यकर्ता भण्डारीकै पक्षमा खुलेर उभिएपछि आसन्न विधान महाधिवेशनबाट उनको राजनीतिक प्रभाव देशभर फैलिने उनी पक्षधर नेताहरूको दाबी छ ।