काठमाडौँ । पत्रकार तथा लेखक बसन्त पराजुलीको नयाँ कृति बखान शनिबार राजधानीमा भव्य समारोहका बीच लोकार्पण गरिएको छ ।
शिखा बुक्सले प्रकाशन गरेको बखान तथ्य–घटनामा आधारित एक गैर–आख्यान हो, जसलाई लेखकले अध्ययन र जीवन्त अनुभूतिको सेतुका रूपमा प्रस्तुत गरेका छन् । पुस्तकले ऐतिहासिक व्यक्तित्व स्व.बखानसिंह गुरुङको जीवनलाई केन्द्रमा राखेको छ ।
लेखक पराजुलीले २००७ सालको परिवर्तनदेखि पञ्चायतसम्मको राजनीतिक यात्रा, नेपाली कांग्रेसको संघर्ष, बीपी कोइरालाको समाजवादका चरण र गुरुङले आफ्ना दुई छोराको निधनले भोगेको पीडालाई मार्मिक ढङ्गले उतारेका छन् ।
समारोहका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अन्य इतिहासका पुस्तकमा उल्लेख नभएका घटनाक्रमलाई पराजुलीले पुस्तकमार्फत उजागर गर्न सफल भएको टिप्पणी गरे । बखानसिंह गुरुङको उच्च योगदानलाई पुस्तकले इतिहासमा सजीव बनाएको महामन्त्री शर्माले उल्लेख गरे ।
त्यसैगरी कांग्रेसका सह–महामन्त्री जीवन परियारले महत्वपूर्ण योगदान पुर्याएका बखानसिंह गुरुङलाई पार्टीले औपचारिक सम्मान गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा बखानसिंह गुरुङकी पनातिनी जानुका गुरुङले आफ्ना बाजेलाई उच्च मूल्याङ्कन गर्दै उनलाई राष्ट्रको शहीद घोषणा गर्नुपर्ने माग राखिन् ।
समारोहमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, साहित्यकार अमर न्यौपाने, विश्लेषक शंकर तिवारी, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतका वक्ताले बखान बाट नयाँ इतिहासका कालखण्डबारे महत्वपूर्ण जानकारी पाइने उल्लेख गरे ।
साहित्यकार न्यौपानेले पुस्तकमाथि चर्चा गर्दै राजनीतिक परिवर्तनका क्रममा धेरै पुस्तकले छुटाएका घटनाक्रमलाई बखान ले समेटेको बताए ।
पुस्तकका लेखक तथा पत्रकार पराजुलीले बखानसिंह गुरुङको योगदानलाई साहित्यको माध्यमबाट आकार दिन खोजेको उल्लेख गर्दै पुस्तकको मूल्याङ्कन पाठकको हातमा रहेको स्पष्ट पारे ।
पुस्तक सार्वजनिक कार्यक्रममा साहित्यकार, पत्रकार, समाजसेवी, प्रबुद्ध वर्ग, प्राध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
यसअघि पराजुलीका कुमाता, मोम्चो लगायत चार कृति प्रकाशित भइसकेका छन् । विगत साढे दुई दशकदेखि लगातार पत्रकारितामा सक्रिय उनी नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष समेत हुन् । हाल चितवनमै रहेर उनी पत्रकारिता गर्दै आएका छन् ।

पुस्तकमा समेटिएका विषय-
नेपालको तराई क्षेत्रमा भएको बसाइँसराइ र बस्ती विकासको ऐतिहासिक पाटोलाई समेटेर लेखिएको यो बखान पुस्तकले चितवनको सामाजिक तथा राजनीतिक घटनाक्रमलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। यसले २००७ देखि २०१० सालसम्मका मुख्य राजनीतिक घटनाक्रमलाई न्याय दिने प्रयास गरेको छ, जसले इतिहासलाई साहित्यिक आयाममा बुझ्न मद्दत गर्छ।
बखान पुस्तकको मुख्य पात्रका रूपमा बखानसिंह गुरुङलाई लिइएको छ, जो प्रजातन्त्रका लागि जीवनभर लड्दा पनि ओझेलमा परेका एक योद्धा हुन्। बखानसिंहले प्रजातन्त्रको आन्दोलनमा दुई जना छोरा गुमाउनुपरेको र घरसमेत गुमाएको मार्मिक कथा यसमा समेटिएको छ। उनका बारेमा खासै लेख-रचना नभएको सन्दर्भमा गाउँघरमा चलेका किंवदन्ती र परिवारका सदस्यबाट प्राप्त जानकारीलाई आधार बनाएर यस उपन्यासको रचना गरिएको देखिन्छ। यसले इतिहासमा हराएका पात्रहरूलाई पुनर्जीवन दिएर उनीहरूको योगदान उजागर गर्ने प्रयास गरेको छ।
लेखक पराजुलीले ऐतिहासिक तथ्यलाई आधार मानेर त्यसभित्र तथ्यपरक जलप लगाएका छन्। बखान पुस्तकमा चितवनको २०१३ सालपछिको विकासको तीव्र गतिलाई पनि समावेश गरिएको छ। नारायणी खगेरी सिँचाइ आयोजना, रामपुर क्याम्पस, नारायणघाट-मुग्लिन सडकजस्ता पूर्वाधारहरूको निर्माण र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भएको विकासले तत्कालीन चितवनको समग्र चित्र प्रस्तुत गर्छ। यसरी बस्ती विकासमा बखानसिंह गुरुङले खेलेको महत्त्वपूर्ण भूमिकालाई पनि यसले चित्रण गरेको छ।
बखान पुस्तक लेख्नका लागि विभिन्न व्यक्ति, पत्रकार तथा संस्थाहरूले दिएको सहयोगप्रति लेखक पराजुलीले आभार व्यक्त गरेका छन्।
यसबाट यो बखान पुस्तक धेरैको सहयोग र अनुसन्धानको प्रतिफल भएको बुझ्न सकिन्छ। लेखक पराजुलीले पाठकलाई नै आफ्नो सबैभन्दा ठूलो सम्पत्ति मानेका छन् र प्रतिक्रियाको अपेक्षा राखेका छन्, जसले लेखक-पाठकबीचको गहिरो सम्बन्धलाई दर्शाउँछ।
समग्रमा, यो पुस्तकले इतिहास, राजनीति, संस्कृति र विकासको पाटोलाई जोडेर चितवनको एउटा महत्त्वपूर्ण समयकालको दस्तावेजका रूपमा आफूलाई उभ्याएको छ।