काठमाडौं । नेकपा एमालेकी पूर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि औपचारिक रूपमा राजनीतिक मैदानमा पुनरागमन गर्दैछिन् । पार्टीले सदस्यता नवीकरण नगर्ने निर्णय गरे पनि आफू पछि नहट्ने अडान लिएकी भण्डारीले आज बानेश्वर–थापागाउँस्थित लाखेचौर मार्गमा रहेको ४ तले रातो घरलाई आफ्नो सम्पर्क कार्यालयका रूपमा उद्घाटन गर्न लागेकी हुन् ।
एमालेभित्र ८० प्रतिशत नेता–कार्यकर्ताको साथ रहेको दाबी गर्दै भण्डारी अब आक्रामक रूपमा नेतृत्वलाई चुनौती दिनेगरी आफ्नो गतिविधि अघि बढाउने तयारीमा छिन् । यो सम्पर्क कार्यालयमार्फत उनले ७७ जिल्ला, वडा र टोलसम्म संगठन विस्तार गर्ने प्रारम्भिक योजना सार्वजनिक गर्ने भएकी छन् ।
उद्घाटन समारोह दिउँसो २ बजे तय गरिएको छ, जहाँ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले सम्बोधन गर्नेछन् । एमालेका अधिकांश नेताहरूलाई औपचारिक निमन्त्रणा दिइसकिएको छ ।
भण्डारीले च्यासलस्थित पार्टी कार्यालयमा प्रवेश रोकिएपछि नयाँ सम्पर्क कार्यालयमार्फत आफ्नो राजनीतिक गतिविधि अघि बढाउने रणनीति बनाएकी हुन् । लाखेचौर मार्गस्थित यही घरले ऐतिहासिक राजनीतिक पृष्ठभूमि बोकेको छ । यही घरबाट २०४८ सालमा दिवंगत नेता मदन भण्डारीले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौं–१ मा पराजित गरेका थिए । त्यस्तै, विद्यादेवी भण्डारीले समेत २०५१ सालको निर्वाचनमा यही घरलाई प्रचार–प्रसारको केन्द्र बनाएकी थिइन् ।
४५ वर्ष पुरानो आफ्नो सदस्यतालाई कसैले खोस्न नसक्ने अडान लिँदै उनले मदन भण्डारी फाउन्डेसनमार्फत देशभर नेता–कार्यकर्ता र जनसमर्थकसँग जोडिने अभियान सञ्चालन गर्ने घोषणा गरेकी छिन् । निकट नेताहरूका अनुसार अब उनी दैनिक सम्पर्क कार्यालयमै उपस्थित भएर भेटघाट र संगठन विस्तारलाई नियमित बनाउनेछिन् ।
यससँगै एमालेभित्र नेतृत्व संघर्षको नयाँ अध्याय सुरु हुने संकेत देखिएको छ । ओली नेतृत्वविरुद्ध विद्या भण्डारीको आक्रमक पुनरागमनले एमालेको आन्तरिक समीकरण फेरिने प्रष्ट देखिएको छ ।