भक्तपुर । लामो समयदेखि विवादित र हाल केही मत्थर भएका व्यवसायी दुर्गा प्रसाईंले सोमबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।
‘राजनीतिक शक्ति निर्माणका लागि राजनीतिक दल गठन गर्ने निश्चय गरेको छु,’ भन्दै उनले यो रहर नभई बाध्यता भएको स्पष्ट पारे। प्रसाईंले मुलुकको राजनीतिक, आर्थिक र सामाजिक अवस्थाले आफूलाई राजनीतिमा प्रवेश गर्न बाध्य बनाएको दाबी गर्दै राष्ट्रिय स्वाभिमान, स्थिरता, रोजगारी, सुशासन, राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिकको रक्षाका लागि नयाँ दल खोली अघि बढ्ने घोषणा गरे।
प्रसाईं हालै राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको ‘संयुक्त जनआन्दोलन समिति’ का जनकमाण्डरका रूपमा चर्चामा आएका थिए। उनको नेतृत्वमा चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो भने विभिन्न संरचनामा आगजनी भएको थियो। सोही दिनदेखि सम्पर्कविहीन रहेका उनलाई भारतबाट ल्याएर मुद्दा दर्ता गरिएको थियो। धरौटीमा छुटेपछि उनले पुनः सार्वजनिक कार्यक्रम मार्फत् सक्रियता देखाएका हुन्।
त्यसैगरी, उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि पनि तीव्र आरोप लगाउँदै भारतबाट गाडी चोरी गरेर जीविकोपार्जन गरेको दाबी गरेका छन्। साथै, चैत १५ गतेको आन्दोलनमा राप्रपाले मिलेर आफूलाई छुरा हानेको समेत उनले आरोप लगाए।
प्रसाईंको राजनीतिक प्रवेशले नेपाली राजनीतिमा नयाँ तरंग ल्याउने अनुमान गरिए पनि उनको विगत र विवादले नयाँ दललाई कस्तो स्वरूप दिने हो भन्नेबारे प्रश्नहरू उठिरहेका छन्।