काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट स्थानान्तरण गरी ललितपुरको नख्खु कारागार चलान गरिएको छ ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेलाई आज शनिबार काठमाडौं ल्याई नख्खु कारागारमा राखिएको हो। उनलाई नेपाल आयल निगमको बाटो हुँदै विमानस्थलबाट गोप्य रूपमा कारागार पुर्याइएको सुरक्षा निकायले जनाएको छ।
विमानस्थलको यात्रु बाहिरिने स्थानमा रहेका रास्वपा समर्थकहरूको ठूलो भीड छल्न प्रहरीले घुमाउरो बाटो प्रयोग गरेको थियो। विमानस्थल वरपर ठूलो संख्यामा रास्वपा समर्थकहरूको उपस्थिति थियो। त्यसैगरी नख्खु कारागार अगाडि पनि ठूलो संख्यामा रवि समर्थक तथा रास्वपाका कार्यकर्ताहरू जम्मा भएका थिए।
लामिछानेलाई स्थानान्तरणको क्रममा विमानस्थलमा भेला भएका रास्वपा कार्यकर्ताहरूलाई प्रशासनले छक्याएर सुरक्षित बाटो अपनाएको थियो। अदालतको आदेश आएको करिब ४० दिनपछि मात्र कार्यान्वयन गर्दै उनलाई काठमाडौं सारिएको हो।
कारागार सरुवा ढिलाइ भएको विषयमा रास्वपाले संसद्मै विरोध जनाएको थियो। सभापति लामिछानेकी पत्नी निकिता पौडेलले अन्तर्राष्ट्रिय मानव अधिकार संस्थासम्म पुग्ने चेतावनी दिएकी थिइन्। केही दिनअघि मानव अधिकार आयोगको टोलीले भैरहवा कारागार अनुगमन गर्दा लामिछानेले बसाइ असुरक्षित भएको बताएका थिए। त्यसपछि सरकारले स्थानान्तरण प्रक्रिया अघि बढाएको हो।
अब अर्को आदेश नआएसम्म लामिछाने नख्खु कारागारमै बस्नेछन्। रास्वपा अध्यक्ष लामिछानेविरुद्ध विभिन्न जिल्लामा समेत यस्तै प्रकृतिका सहकारी मुद्दा दायर भएकाले कहिले रिहा हुने भन्ने विषयमा यकिनपूर्वक भन्न सक्ने अवस्था छैन।
रास्वपाले भने लामिछानेमाथि सत्ता र शक्तिको आडमा प्रतिशोध साँधिएको आरोप लगाउँदै आएको छ। कारागारमा रहे पनि रविप्रति जनतामा रहेको विश्वासको क्रेज लगातार उर्लँदै गएको छ।





