काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई रुपन्देहीको भैरहवा कारागारबाट ललितपुरस्थित नख्खु कारागार स्थानान्तरण गर्ने प्रक्रिया सुरु भएको छ।
बुद्ध एअरको जहाजमार्फत उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झारिने तयारी गरिएको छ।
लामिछानेले कारागार सरुवाका लागि दिएको निवेदनको आधारमा हिजोमात्रै कारागार विभागले निर्णय गरेको थियो।
यस बीच, सभापति लामिछानेलाई स्वागत गर्न उनकी पत्नी निकिता पौडेलसहित रास्वपा नेता–कार्यकर्ता र समर्थकहरूको बाक्लो भीड काठमाडौं विमानस्थलमा जम्मा भइसकेको छ।
लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा थिए। उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। अदालतले जेठ १६ गते नै सरुवाको अनुमति दिएको भए पनि गृह प्रशासनले तत्काल निर्णय कार्यान्वयन गरेको थिएन।
कारागार सरुवा रोकिएपछि रास्वपाले संसद्मै विरोध जनाएको थियो। सभापति लामिछानेकी पत्नी निकिता पौडेलले अन्तर्राष्ट्रिय मानव अधिकार संस्थासम्म धाउनुपर्ने चेतावनीसमेत दिएकी थिइन्। केही दिनअघि मानव अधिकार आयोगको टोलीले भैरहवा कारागार अनुगमन गर्दा लामिछानेले आफ्नो ज्यानमाथि असुरक्षा रहेको भन्दै बसाइ असहज भएको बताइएपछि सरकारले उनलाई काठमाडौं सार्ने तयारी गरेको हो।
स्थानान्तरणको तयारीसँगै भैरहवा कारागार अगाडि रास्वपा नेता–कार्यकर्ताको बाक्लो भीड लागेको थियो। दिउँसो ३:१० बजेको फ्लाइटमार्फत काठमाडौं ल्याउने भनिए पनि कारागारबाट बाहिर निकाल्न ढिलाइ भएको थियो।
अदालतको आदेश आएको करिब ४० दिनपछि हिजो मात्र कारागार व्यवस्थापन विभागले लामिछानेलाई स्थानान्तरण गर्ने निर्णय गरेको हो।