अलास्का । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा सम्पन्न उच्चस्तरीय वार्ता युद्धविराम घोषणाबिना टुंगिँदा विश्व राजनीति पुनः अनिश्चितताको घेरामा प्रवेश गरेको छ। करिब तीन घण्टा लामो वार्तापछि दुवै नेताले ‘प्रगति भएको’ दाबी गरे पनि ठोस सम्झौता वा युद्ध अन्त्यतर्फको व्यावहारिक कदम भने सार्वजनिक भएन।
वार्तापछि एयर फोर्स वनमार्फत वासिङ्टन फर्किएका ट्रम्प असन्तुष्ट मुद्रामा देखिन्थे। उनले केही बुँदामा सहमति भए पनि “सबैभन्दा महत्त्वपूर्ण” एउटा बिषयमा सहमति हुन नसकेको बताए, तर त्यसलाई खुलाउन चाहेनन्। पुटिनले भने युक्रेन युद्धलाई “दुःखद घटना” भन्दै यसलाई अन्त्य गर्न आफू गम्भीर रहेको जनाए, तर युद्धका ‘मूल कारण’ समाधान नगरी केवल युद्धविराम सम्भव नहुने चेतावनी दिए।
दुवै नेताको संयुक्त पत्रकार सम्मेलन करिब १० मिनेट मात्र रह्यो। पुटिनले युक्रेनको सुरक्षा सुनिश्चित गर्न ट्रम्पसँग सहमति भएको बताएका थिए भने, ट्रम्पले चाँडै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्की र युरोपेली नेताहरूसँग सम्पर्क गर्ने घोषणा गरे। यद्यपि, ‘तत्काल युद्धविराम’ भन्ने उनको चाहना भने कागजमा मात्र सीमित भयो।
मस्कोले यसअघि नै अमेरिकालाई ‘स्पष्ट र परिभाषित’ धारणा प्रस्तुत गर्ने बताएको थियो। पुटिनको टोलीमा विदेश मन्त्री सेर्गेइ लाभरोभदेखि रक्षा, अर्थतन्त्र र व्यापार क्षेत्रका शीर्ष व्यक्तिहरू सहभागी थिए। त्यस्तै, अमेरिकी पक्षबाट ट्रम्पसँगै उपराष्ट्रपति जेडी भ्यान्स, विदेश मन्त्री मार्को रुबियो, युक्रेनका लागि विशेष दूत स्टिभ विटकोफ र रक्षा मन्त्री पिट हेगसेथ उपस्थित थिए।
ट्रम्पले यस भेटलाई “स्थिति बुझ्ने” बैठकको रूपमा व्याख्या गर्दै असफल हुने सम्भावना २५ प्रतिशत रहेको बताएका थिए। वास्तवमै, ठोस परिणाम नआएकोले उनको आकलन नजिकै पुग्यो। अझ महत्त्वपूर्ण, वार्तामा भूमिको आदानप्रदानको सम्भावना बारे कुरा भएको उल्लेख भए पनि मस्कोले २०१४ र २०२२ मा आयोजित जनमत सङ्ग्रहमार्फत रुसमा गाभिएका क्षेत्र—क्राइमिया, डोनेत्स्क, लुहान्स्क, खेरसोन र जापोरोजियामाथि सम्झौता अस्वीकार गर्ने अडान पुनः स्पष्ट गर्यो।
यसैबीच, फक्स न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले “युक्रेनमा मानिसहरूले मर्न छोडुन्” भन्ने चाहना प्रकट गरे। तर, उनले प्रगति भएको दाबी गरे पनि सम्झौता अन्ततः “जेलेन्स्कीमा निर्भर” रहने बताएका छन्। यसले स्पष्ट पार्छ, शान्तिको कुञ्जी अझै पनि कीभकै हातमा छ।
अन्त्यमा, पुटिनले अर्को भेट मस्कोमा गर्न प्रस्ताव गरे भने, ट्रम्पले त्यसलाई “विवादास्पद भए पनि सम्भावनायुक्त” भन्दै आंशिक स्वीकृति जनाए। प्रश्न भनेको यही हो – के यो भेट विश्वशान्तितर्फको वास्तविक मोड हो, वा केवल दुई महाशक्तिका नेताहरूको कूटनीतिक प्रदर्शन ?
युक्रेन युद्धको घडी अझै निरन्तर टिक–टक गरिरहेकै छ। अलास्कामा भएको यो ऐतिहासिक भेटले समय रोकेको छैन, तर नाटकलाई अर्को अंकतर्फ मात्र धकेलेको देखिन्छ।
–एजेन्सी