अलास्का । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा सम्पन्न उच्चस्तरीय वार्ता कुनै युद्धविराम घोषणा नगरी टुंगिएको छ।
संयुक्त पत्रकार सम्मेलनपछि ट्रम्प एयर फोर्स वनमार्फत वासिङ्टन फर्किए भने पुटिन पनि मस्को तर्फ प्रस्थान गरे। करिब तीन घण्टा लामो वार्तामा दुवै नेताले प्रगति भएको बताएका भए पनि ठोस सम्झौतामा पुग्न सकेनन्।
पुटिनले युक्रेन युद्धलाई “दुःखद घटना” भन्दै यसलाई अन्त्य गर्न आफू गहिरो चासो राख्ने बताए। तर, उनले युद्धका मूल कारण समाप्त गर्नुपर्ने आवश्यकता दोहोर्याउँदै युक्रेन र युरोपलाई वार्तामा बाधा नपुर्याउन चेतावनी दिए। उनले ट्रम्पसँगको भेटलाई “समाधानको सुरुवाती बिन्दु” बताउँदै, ट्रम्पको दाबी – यदि २०२० को चुनावपछि उनी राष्ट्रपति रहेका भए युद्ध सुरु नै हुने थिएन – सँग सहमति जनाए।
ट्रम्पले भने वार्तामा “धेरै बुँदामा सहमति” भए पनि “सबैभन्दा महत्त्वपूर्ण” एउटा बिषयमा भने सहमति हुन नसकेको जनाए, तर त्यसलाई खुलाएनन्। वासिङ्टनबाट अलास्का जाँदै गर्दा उनले युद्धविराम घोषणा गर्ने चाहना प्रस्ट पारेका भए पनि घोषणा नगरी मञ्च छोड्दा असन्तुष्ट देखिए।
संयुक्त पत्रकार सम्मेलनमा दुवै करिब १० मिनेटसम्म सँगै उभिए। पुटिनले युक्रेनको सुरक्षा सुनिश्चित गर्न ट्रम्पसँग सहमति भएको बताए भने, ट्रम्पले चाँडै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्की र युरोपेली नेताहरूसँग सम्पर्क गर्ने घोषणा गरे।
वार्ताको अन्त्यमा ट्रम्पले “सायद छिट्टै फेरि भेट हुने” संकेत गरे भने, पुटिनले अर्को भेट मस्कोमा गर्ने प्रस्ताव राखे। पुटिनको अङ्ग्रेजीमा प्रस्तुत प्रस्तावलाई ट्रम्पले “विवादास्पद भए पनि रोचक र सम्भावनायुक्त” भन्दै आंशिक रूपमा स्वीकार गरे।
ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछिको यो पहिलो प्रत्यक्ष भेट हो। विमानबाट ओर्लिएर दुवै नेताले पत्रकारहरूलाई फोटो खिचाउने अवसर दिए, एउटै गाडीमा बैठकस्थल तर्फ अघि बढे र रातो कार्पेटमा केही सेकेन्डसम्म हात मिलाउँदै शुभकामना आदानप्रदान गरे।
अब प्रश्न के हो भने—यो ऐतिहासिक भेटले युक्रेन युद्धमा शान्ति र समाधानतर्फ वास्तविक मोड दिनेछ कि केवल कूटनीतिक प्रदर्शनमै सीमित रहनेछ?
–एजेन्सी