काठमाडौँ । जब शान्तिपूर्ण रूपमा बसिरहेको समाजमा धर्म प्रवेश गर्छ, तब सुरु हुन्छ—तनाव, भय र सन्त्रास। आज पूर्वी एसिया, जुन विकास र उदार समाजतर्फ अघि बढिरहेको क्षेत्र हो, त्यही एक मन्दिरको कारण युद्धतर्फ धकेलिएको अवस्था देखिएको छ।
विश्व इतिहासमा हेर्दा, सन् १९०० को दशकतिर पश्चिमी मुलुकहरू धार्मिक प्रभावबाट धेरै हदसम्म टाढा भइसकेका थिए। किनभने सन् १८०० को अवधिभर उनीहरूले धर्मका नाममा ठूलो क्षति भोगेका थिए। त्यस पीडाबाट पश्चिमले ठूलो पाठ सिक्यो। परिणामस्वरूप, धर्मलाई निजी र सीमित दायरामा राख्दै उनीहरूले आधुनिक, वैज्ञानिक र मानव अधिकारमा आधारित समाज निर्माण गरे।
यो सोचाई विस्तारै अन्य क्षेत्रहरूमा पनि फैलिन थाल्यो। तर, त्यसबीचमा मध्यपूर्वमा धार्मिक कट्टरता सल्किन थाल्यो र आज मध्यपूर्व धर्मकै नाममा आतंकित छ। दक्षिण एसियाको सामाजिक परिवेश पनि यस्तै भय र अस्थिरताले ग्रस्त छ—जहाँ धर्म राजनीतिक उपकरणको रूपमा प्रयोग हुने गरेको छ।
यस्तो अवस्थाबीच पूर्वी एसिया भने पछिल्ला दशकहरूमा तुलनात्मक रूपमा शान्त र स्थिर देखिँदै आएको थियो। त्यहाँका मुलुकहरू विकास, प्रविधि र खुला समाजका दृष्टिले पश्चिमी देशहरूलाई समेत पछि पार्ने तयारीमा थिए।
तर, यसैबीच उत्पन्न भएको मन्दिर विवाद—धार्मिक आस्थाको नाममा भड्किएको राष्ट्रवादी आवेग र त्यसले निम्त्याएको सैन्य संघर्ष—अहिले गम्भीर रूपले सल्किएको छ। पूर्वी एसियाको अपेक्षाकृत स्थिरता एकाएक युद्धको छायाँमा परिरहेको देखिन्छ।
बीबीसीको विस्तृत रिपोर्टमा आधारित यो सामग्री-
थाइल्याण्ड–कम्बोडिया सीमा क्षेत्रमा भइरहेको सैन्य झडपमा अहिलेसम्म कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
थाइल्याण्डका स्वास्थ्य मन्त्रीका अनुसार झडपमा एक जना सैनिक र ११ जना सर्वसाधारणको ज्यान गएको छ। दुबै पक्षले पहिलो गोली अर्को पक्षले चलाएको आरोप लगाएका छन्।
यो घटना त्यस्तो समयमा भएको हो जब एक दिनअघि सीमा क्षेत्रमा भएको एउटा ल्यान्डमाइन विस्फोटमा एक थाई सैनिक घाइते भएका थिए, जसपछि थाईल्यान्डले कम्बोडियाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको थियो।
सीमा क्षेत्रमा बिहीबार बिहानैदेखि दुवै देशका सैनिकबीच गोलीबारी भइरहेको छ। थाइल्याण्डले कम्बोडियाका सैन्य अड्डामा हवाई बमबारी गरेको दाबी गरेको छ। बिहीबार बिहान जब गोली चल्न थाल्यो, दुवै पक्षले पहिलो गोली अर्कोले चलाएको आरोप लगाए। थाइल्याण्डले कम्बोडियाले थाई गाउँहरू र अस्पतालहरूमा रकेट प्रहार गरेको आरोप लगाएको छ भने थाई पक्षले कम्बोडियाका केही अड्डामा हवाई बमबारी गरेको बताएको छ।
कम्बोडियाले थाइल्याण्डसँग आफ्नो कूटनीतिक सम्बन्ध घटाएको छ र अत्यधिक बल प्रयोग गरेको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई आपतकालीन बैठक बोलाउन माग गरेको छ।
चीनले दुवै देशलाई वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ र निष्पक्ष मध्यस्थको भूमिका निर्वाह गर्ने प्रस्ताव राखेको छ। कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार बिहीबार बिहान करिब ६:३० बजे संघर्ष सुरु भएको थियो, जब थाई सैनिकले पहिलेको समझदारीको उल्लङ्घन गर्दै सीमा नजिक रहेको एक हिन्दू मन्दिरतर्फ अघि बढे र चारैतिर काँडे तार लगाउन थाले।
त्यसपछि थाई सैनिकले करिब ७:०० बजे एक ड्रोन उडाएका थिए र करिब ८:३० बजे हवाई गोलीबारी सुरु भएको थियो।
कम्बोडियाको रक्षा मन्त्रालयकी प्रवक्ता माली सोचेटाले ‘फ्नम पेन्ह पोस्ट’ पत्रिकालाई बताएकी छिन् कि बिहान ८:४६ बजे थाई सैनिकले फायरिङ सुरु गरे, जसले गर्दा कम्बोडियाली सैनिकसँग आत्मरक्षाबाहेक अन्य विकल्प नरहेको बताइन्।
सोचेटाले थाईल्यान्डले अत्यधिक संख्यामा सैनिक पठाएको, भारी हतियार प्रयोग गरेको र कम्बोडियाली भूभागमा हवाई आक्रमण गरेको आरोप पनि लगाइन्।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले भनेका छन् कि अब प्रतिक्रियामा कदम चाल्नुबाहेक अन्य विकल्प छैन।
एक सामाजिक सञ्जाल पोस्टमा उनले लेखेका छन्, “कम्बोडियाले सधैं वार्ताबाट सबै विषय हल गर्ने सिद्धान्तलाई मान्यता दिएको हो तर यस्तो अवस्थामा सैन्य आक्रामकताको जवाफ सैन्य शक्तिबाट दिनुबाहेक कुनै विकल्प छैन।”
थाईल्यान्डको नेशनल सेक्युरिटी काउन्सिलका प्रवक्ताका अनुसार बिहीबार बिहान स्थानीय समयअनुसार ७:३० बजे कम्बोडियाली सेनाले सीमा नजिक थाई सैनिकहरूको निगरानी गर्न ड्रोन पठाएको थियो।
त्यसको केही समयपछि, आरपीजीसहित कम्बोडियाली सैनिकहरू सीमा नजिक जम्मा भए। थाई पक्षका सैनिकले संवादको प्रयास गरे र चिच्याएर कुरा गर्न खोजे, तर त्यो प्रयास असफल भयो।
प्रवक्ताका अनुसार करिब ८:२० बजे कम्बोडियाली सैनिकले गोलीबारी सुरु गरे, जसको जवाफमा थाई सैनिकलाई पनि कारबाही गर्नुपर्यो।
थाईल्यान्डले कम्बोडियाले बीएम-२१ रकेट लन्चर र तोपखानालगायत भारी हतियार तैनाथ गरेको आरोप लगाएको छ।
थाई पक्षको भनाइमा यो हमलाबाट सीमा नजिकको घर र सार्वजनिक संरचनाहरूमा क्षति पुगेको छ। यो विवादको जरो एक सय वर्षभन्दा बढी पुरानो हो, जब फ्रेन्च उपनिवेशको अन्त्यपछि कम्बोडियाको सीमा निर्धारण गरिएको थियो।
स्थिति सन् २००८ मा औपचारिक रूपमा तनावपूर्ण बनेको हो, जब कम्बोडियाले एक विवादित क्षेत्रमा रहेको ११औं शताब्दीको मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा दर्ता गराउने प्रयास गरेको थियो।
थाईल्यान्डले यसको कडा विरोध गरेको थियो। त्यसयता दुवै देशबीच पटक–पटक झडपहरू भएका छन्, जसमा सैनिक र सर्वसाधारणको मृत्यु भएको छ।
हालको तनाव मे महिनामा थप चुलिएको थियो, जब एक झडपमा कम्बोडियाली सैनिकको मृत्यु भएको थियो। त्यसयता दुई देशबीचको सम्बन्ध पछिल्लो दशकमा सबैभन्दा तल्लो स्तरमा पुगेको छ।
पछिल्ला दुई महिनामा दुवै देशले एक–अर्काप्रति सीमा सम्बन्धी प्रतिबन्धहरू लगाएका छन्। कम्बोडियाले थाईल्यान्डबाट फलफूल–तरकारीजस्ता सामग्रीको आयातमा रोक लगाएको छ, साथै बिजुली र इन्टरनेट सेवा लिन पनि बन्द गरेको छ।
पछिल्ला केही हप्तामा दुवै देशले सीमा क्षेत्रमा सैनिकहरूको संख्या पनि बढाएका छन्। बीबीसीका दक्षिण एशिया संवाददाता जोनाथन हेडका अनुसार कोही पनि यो टकराव पूर्ण युद्धमा परिणत हुन्छ भन्ने विश्वास गर्दैनन्, तर अहिले दुवै देशमा यस्तो नेतृत्व देखिँदैन जसले यो तनावलाई घटाउने ताकत र आत्मविश्वास राखोस्।
कम्बोडियाको अर्थतन्त्र गम्भीर संकटमा छ। त्यहाँका प्रधानमन्त्री, पूर्व सत्तारुढ नेताका छोरा हुन् र हालसम्म उनको आफ्नै राजनीतिक पकड सशक्त देखिएको छैन।
उनका पिता हुन सेन अझै प्रभावशाली छन् र यस्तो देखिन्छ कि उनले आफ्नो राष्ट्रवादी रुखलाई अझ बलियो बनाउनका लागि यो संघर्षलाई अझ अगाडि बढाउन तयार छन्।
थाइल्याण्डको सन्दर्भमा हेर्दा त्यहाँ एक अस्थिर गठबन्धन सरकार छ, जसको पछाडि शक्तिशाली नेता ताक्सिन शिनावात्रा छन्।
उनी र हुन सेनको परिवारबीच व्यक्तिगत सम्बन्ध निकै गहिरो छ, तर हुन सेनले एक निजी संवाद सार्वजनिक गरेपछि ताक्सिनलाई विश्वासघात महसुस भएको छ।
यही लिकका कारण ताक्सिनकी छोरी तथा प्रधानमन्त्री पिन्टोंगताकूना कोर्न्वोङलाई संवैधानिक अदालतले निलम्बन गरेको थियो। यस्तो अवस्थामा थाई पक्षमा पनि निकै आक्रोश देखिएको छ।
अब हेर्न बाँकी छ कि आसियानका अन्य सदस्य राष्ट्रहरूले यस टकरावमा हस्तक्षेप गर्छन् कि गर्दैनन् र दुवै देशलाई तनाव घटाउन राजी गराउँछन् कि गराउँदैनन्।
आसियानको उद्देश्य नै आफ्ना सदस्य राष्ट्रहरूबीच टकराव टार्नु हो र यो समय केही सदस्य देशहरूको प्राथमिकता हुने नै छ कि उनीहरू थाइल्याण्ड र कम्बोडियाबीचको यो विवाद सुल्झाउन लागिपर्नेछन्।
–बीबीसी हिन्दीबाट