काठमाडौँ । अमेरिका र इरानबीच बढ्दो तनाव अन्ततः दुई साताको अस्थायी युद्धविराममा टुंगिएको छ। यस घटनाक्रमलाई धेरै विश्लेषकहरूले इरानको रणनीतिक पछाडि हटेकोमा रूपमा हेरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा चेतावनी र सैन्य दबाबपछि इरान वार्तामा आउन बाध्य भएको सन्देश बाहिरिएको छ।
ट्रम्पले सार्वजनिक रूपमा इरानमाथि कडा भाषा प्रयोग गर्दै उसको “सभ्यता नै समाप्त पारिदिने” चेतावनी दिएका थिए। त्यसको केही समयमै उसले दुई साताका लागि इरानमाथिको आक्रमण रोक्ने घोषणा गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत पाकिस्तानका प्रधानमन्त्री सहबाज शरीफ र सेना प्रमुख आसिम मुनीरको आग्रहपछि यो निर्णय लिएको बताएका छन्।

ट्रम्पका अनुसार, इरानले होर्मुज जलडमरूमध्य पूर्ण, तत्काल र सुरक्षित रूपमा खोल्न सहमति जनाएपछि मात्र अमेरिका युद्धविरामका लागि तयार भएको हो। उनले भनेका छन् कि अमेरिकी सैन्य उद्देश्यहरू “पूरा मात्र नभई पार पनि भइसकेका” छन् र अब दीर्घकालीन शान्ति सम्झौताका लागि बाटो खुलेको छ।
युद्धविरामपछि अब विश्वभर पेट्रोलियम पदार्थ आपुर्ति सहज हुने भएको छ ।
यसैबीच, इरानको तर्फबाट पनि युद्धविरामको पुष्टि गरिएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को निर्णयअनुसार, यदि अमेरिकाले आक्रमण रोकेमा इरानले पनि आफ्ना रक्षात्मक कारबाहीहरू स्थगित गर्ने जनाएको छ। इरानका परराष्ट्र मन्त्री सैय्यद अब्बास अराघचीले पाकिस्तानको मध्यस्थता र कूटनीतिक पहलप्रति धन्यवाद व्यक्त गरेका छन्।

विज्ञप्तिअनुसार, इरानका सर्वोच्च नेता मोजतबा खामेनेईको अनुमतिपछि मात्र यो निर्णय भएको हो। तर अन्तर्राष्ट्रिय विश्लेषकहरूले भने यसलाई इरानको स्पष्ट दबाबमा गरिएको निर्णय र परोक्ष रूपमा हार स्वीकार गरेको संकेतका रूपमा व्याख्या गरेका छन्।
युद्धविरामसँगै अब होर्मुज जलडमरूमार्ग खुल्ने अपेक्षा गरिएको छ, जसले विश्वव्यापी तेल आपूर्तिमा देखिएको तनाव कम हुने विश्वास गरिएको छ। मध्यपूर्वमा बढ्दो युद्धको जोखिमलाई केही समयका लागि भए पनि कम गर्ने दिशामा यो सहमति महत्वपूर्ण मानिएको छ।
–एजेन्सी